अवैध उत्खननविरुद्ध धनुषामा अहिलेसम्मकै ठूलो कारबाही

|

ढल्केवर, धनुषा / नदीजन्य पदार्थको अवैध उत्खननविरुद्ध धनुषामा अहिलेसम्मकै ठूलो कारबाही चलाइएको छ । डिभिजन वन कार्यालय धनुषाले यस्तो कारबाही चलाएको हो । वन कार्यालयले अवैधरुपमा वन पैदावरको उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएका दुई वटा एक्साभेटर लिलामीको माग तथा तीन जना क्रसर उद्योगका सञ्चालकमाथि कारबाहीको माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।

धनुषाको कमला नदी वन क्षेत्रमा अवैधरुपमा वन पैदावर उत्खनन गरिरहेकोे अवस्थामा नियन्त्रणमा लिइएको ना १ क ८९५५ र बा २ क ६३१७ नम्बरको एक्साभेटरको लिलामीको माग गर्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरी बताउनुभयो । उहाँले अवैधरुपमा वन पैदावरको उत्खनन तथा ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा जय बजरङ्ग बालुवा प्रशोधन उद्योगका सञ्चालक बेचन ठाकुर बरही, रामबाबु ठाकुर बरही र कमलामाई क्रसर उद्योगका सञ्चालक सञ्जय शर्मामाथि समेत मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

नदीजन्य पदार्थको अवैध उत्खनन कार्यलाई निरुत्साहित गर्न ठूलो कारबाही चलाइएको डिभिजन प्रमुख चौधरीको भनाइ छ । यसअघि पुनः उत्खनन नगर्ने शर्तमा सामान्या जरिवाना गरेर छोडिदिने गरिएको भए पनि अवैध उत्खनन नियन्त्रण हुन नसकेपछि यस प्रकारको कारबाही चलाउनु परेको उहाँले बताउनुभयो । नियन्त्रणमा लिएको एक्साभेटर पोर्ताहास्थित प्रहरी चौकी अगाडि राखिएको उहाँले जानकारी दिनुभयो ।

धनुषामा अवैध उत्खननविरुद्ध अहिलेसम्मकै यो ठूलो कारबाही भएको गोदारका कफिल काफ्लेले बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएर स्थानीय तह तथा जिल्ला समन्वय समितिलाई जिम्मा लगाउँदा ट्याक्टरको पाँच हजार, टिपरको १० हजार र एक्साभेटरको २० हजार रुपियाँ जरिवाना गरेर छोडिदिने गरेको थियो । सामान्य जरिवाना गरेर छोडिदिँदा अवैध उत्खनन् माफियाहरुको मनोबल बढेको थियो । वनले गरेको यो कारबाहीले अवैध उत्खनन केही हदसम्म नियन्त्रणमा आउने उहाँको भनाइ छ । गोरखापत्रबाट