विजयकुमार साह
ढल्केबर, धनुषा । मधेश प्रदेशका आठ जिल्लाका राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन र कबुलियत वन गरी १६ हजार हेक्टर वनको जग्गा अतिक्रमणमा परेको छ । वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशको तथ्याङ्कअनुसार प्रदेशमा १६ हजार ५९९ हेक्टर वन क्षेत्रको जग्गा अतिक्रमणमा परेको हो ।
प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी बारामा १० हजार ५९३ हेक्टर वनको जग्गा अतिक्रमणमा रहेको छ । सर्लाहीमा भने सबैभन्दा कम ७१ हेक्टर वन क्षेत्र अतिक्रमित अवस्थामा छ । त्यस्तै, सप्तरीमा ८०, सिरहामा ९४३, धनुषामा ८३७, महोत्तरीमा ६७३, रौतहटमा ३१९, र पर्सामा २११ हेक्टर वनको जग्गा अतिक्रमणको चपेटामा छ ।
अतिक्रमण भएका जग्गामा सार्वजनिक संरचना निर्माण, घरटहरा निर्माण, विद्यालय, क्लबका भवन निर्माण गरिएको छ । धेरैजसो स्थानमा त बाक्लो बस्ती र खेतीपातीका लागि जग्गा प्रयोग भइरहेको बताइएको छ ।
देशमा सबैभन्दा कम वन क्षेत्र मधेश प्रदेशमा छ । नेपालमा कुल भूभागमध्ये ४५ प्रतिशत वन क्षेत्र भएपनि मधेश प्रदेशमा ३.७२ प्रतिशत मात्र वन क्षेत्र रहेको छ । प्रदेशको करिब दुई लाख दुई हजार २०२ हेक्टर जमिन वनले ओगटेको छ । जसमा मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये ८९ वटामा स्थानीय तहमा प्राकृति वन नरहेको वन मन्त्रालयको विवरणमा उल्लेख छ ।
पछिल्लो समय मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले वन क्षेत्रको अतिक्रमित जग्गा खाली गराउन चासो देखाउनु भएको छ । उहाँले वन क्षेत्रको जग्गा अतिक्रमण हुनबाट जोगाउने कर्मचारीलाई सराहना गर्नुभएको छ भने अतिक्रमणबारे सूचना तथा निर्देशनसमेत दिने गर्नुभएको छ । उहाँले गत मङ्गलबार मात्र प्रदेशका आठवटै जिल्लाका डिभिजनल वन अधिकृतलाई बोलाएर प्रत्येक महिनामा कम्तीमा एक ठाउँको पुरानो वन अतिक्रमण पहिचान गरी हटाउन र नयाँ वन अतिक्रमण हुन नदिन निर्देशन दिनुभएको थियो ।
मुख्यमन्त्री सिँहले वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउन आफू सक्रिय रहेको बताउनुभयो । यस कार्यमा भुइँतहमा कार्यरत जनशक्तिले इमानदारी तथा निष्ठापूर्वक काम गरिदिँदा सरकारबाट प्रवाह हुने सेवा संस्थागत र सुशासनयुक्त हुने उल्लेख गर्नुहुँदै अतिक्रमणले प्राकृतिक विपद्हरु बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले असल काम गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको प्रस्ट पार्नुभयो ।
वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सचिव उद्धवबहादुर घिमिरेले वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउन मन्त्रालय मातहतका आठ वटै जिल्लाका डिभिजन वन कार्यालयलाई परिपत्र जारी गरिएको बताउनुभयो । परिपत्रअनुसार कार्ययोजना बनाएर वन अतिक्रमणको व्यवस्थापनमा तदारुकताका साथ लाग्न भनिएको उहाँले जानकारी दिनुभयो । खाली गराएको ठाउँमा वृक्षरोपण गरिने सचिव घिमिरेको भनाइ छ ।
प्रदेश वन निर्देशनालयका अधिकृत सुरेश शर्माले वन क्षेत्र प्रदेश मातहत आए पनि प्रशासन सङ्घीय सरकारको निर्देशन र समन्वयमा सञ्चालन रहेकाले वन क्षेत्र अतिक्रमणमुक्त गराउन समस्या रहेको बताउनुभयो । उहाँले यसका लागि स्थानीय प्रशासनको पहलकदमी आवश्यक भएको जानकारी दिनुभयो ।
मधेश प्रदेशमा मानव, बस्ती, कृषि, औद्योग तथा पूर्वाधारको द्रुत बिस्तारले वन अतिक्रमणका साथै बहुमुल्य पारिस्तितिकीय प्रणालीहरुको विनास भइरहेको अधिकृत शर्माको भनाइ छ । यसका साथै जैविक विविधताको क्षति, माटोको क्षय, पानीको कमी र प्राकृतिक प्रकोपको बढ्दो जोखिमलगायत वातावरण र मानव समुयदाय दुवैमा नकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो ।
अतिक्रमणमा परेको २१४ हेक्टर जग्गा खाली
वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷०८१ मा अतिक्रमणमा परेको २१४ हेक्टर वन क्षेत्रको जमिन खाली गरिएको छ । प्रदेशका सात वटा जिल्लामा गरी २१४ हेक्टर वन क्षेत्रको अतिक्रमित जग्गा खाली गराइएको हो । अतिक्रमणमुक्त गरिएको जग्गा वन क्षेत्र कायम गरी वृक्षरोपण गरिएको सचिव घिमिरेले बताउनुभयो ।
यसमध्ये सबैभन्दा बढी बारामा ५७ हेक्टर वनको जग्गा खाली गरिएको तथ्याङ्कमा उल्लेख छ भने रौतहतमा शुन्य प्रगति रहेको छ । त्यस्तै, सप्तरीमा १०, सिरहमा ५०, धनुषामा ३५, महोत्तरीमा ३१, सर्लाहीमा २५, रौतहत शुन्य र पर्सामा पाँच हेक्टर अतिक्रममा परेको वनको जग्गा खाली गराइएको छ ।गोरखापत्रबाट