विजयकुमार साह
ढल्केवर, धनुषा ।
२५ वर्षकै उमेरमा श्रीमान् गुमाउनुभएकी शोभा महराको अवस्था कहालीलाग्दो छ । जनकपुर पुल चोकमा बस्दै आउनुभएकी उहाँका श्रीमान्को क्यान्सरका कारण दुई वर्षअघि मृत्यु भएको थियो । श्रीमान्को निधनपछि सासूससुराले घर प्रवेशमा रोक लगाउनुका साथै जायथेथाबाट समेत बञ्चित गरिदिएपछि अहिले उहाँसहित दुई छोराछोरीको बिच्चली भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१७, कनरपट्टी माइती घर भएकी शोभाले नौ वर्षअघि धनुषाको धनौजी गाउँपालिका–४, भडरियाका अभिषेक बज्रचार्यसँग अन्तरजातीय प्रेम विवाह गर्नुभएको थियो । श्रीमान्को निधनपछि दुई छोराछोरी र आफू बिच्चलीमा परेको शोभाले बताउनुभयो । उहाँले भन्नुभयो, “विवाह गरेर श्रीमानले जनकपुरमै भाडाको घरमा राख्नुभयो । घर कहिल्यै लैजानु भएन । त्यहीबिच दुई छोराछोरीको जन्म भयो ।”
श्रीमान्ले विवाह दर्ता प्रमाणपत्र नबनाइदिएकाले अहिले बिच्चलीमा परेको शोभाले सुनाउनुभयो । “न विवाद दर्ता प्रमाणपत्र बनाइदिनुभयो न छोराछोरीको जन्मदर्ता । अहिले उहाँको निधनपछि परिवारले आफूहरुलाई स्वीकार्न मान्दैन ।” आफू दलित भएकै कारण सासूससुराले बुहारी मान्न तयार नभएको आरोप उहाँको छ ।
उहाँ न्यायका लागि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको बताउनुहुन्छ । श्रीमान्को सहारा गुमेपछि छोराछोरीको पालनपोषण र न्यायका लागि लडिरहेकै बेला शरीरमा कुष्ठरोगको लक्षण देखिएपछि झन् समस्यामा परेको शोभाले पिडा पोख्नुभयो । यद्यपि नियमित औषधि सेवनबाट कुष्ठरोग निको भएको उहाँको भनाइ छ ।
अहिले छोराछोरीको पालनपोषण र आफ्नै जीविका चलाउन ठूलो समस्या गुनासो सुनाउँदै उहाँले भन्नुभयो, “कसरी बाँचिरहेको छु, त्यो मलाई नै थाहा छ । बडो दुःख छ । खान, लगाउन र बस्ने ठाउँको समस्या छ । आम्दानीको कुनै स्रोत छैन् । बुढी भएकी आमाले पाउने सामाजिक सुरक्षा भत्ता मलाई दिनुहुन्छ त्यसैबाट जेनतेन गुजारा चलेको छ ।” श्रीमानसँग नाता प्रमाणपत्र नबनाउनु ठूलो भुल भएको शोभाको भनाइ छ ।
सासूससुराले घरमा बस्न नदिएपछि माइती घरमा बस्दै आउनुभएको थियो । तर त्यहाँ पनि ठाउँको अभाव भएपछि जनकपुरको पुल चोकमा भाडाको घरमा बस्दै आउनु भएको छ । पाँच धुर जग्गामा बनेको घरमा चार दाजुभाइको परिवार बस्छन् । दाजुभाइको आर्थिक अवस्था पनि कमजोर छ । त्यसैले यता डेरामा बस्न थालेको हुँ ।” छोराछोरीको जन्मदर्ता नहुँदा सामुदायिक विद्यालयमा पढाउनबाट बञ्चितसमेत रहेको शोभाले दुःखेसो सुनाउनुभयो ।
उहाँ अहिले लालगढ कुष्ठरोग अस्पतालका सामुदायिक स्वास्थ्य तथा विकास विभागद्वारा जनकपुरमा सञ्चालित नौ महिने सिलाई कटाइ तालिम लिइरहनु भएको छ । नौ महिनामध्ये आठ महिना पुरा भएको छ । तालिम सम्पन्नपछि सिलाइ कटाइलाई नै आयको आधार बनाउने उहाँको भनाइ छ ।
लालगढ कुष्ठरोग अस्पतालका सामुदायिक स्वास्थ्य तथा विकास विभाग प्रमुख रमेश चौधरीले आर्थिक, सामाजिक र सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने उद्देश्यले उहाँलाई तालिममा सहभागी गराइएको बताउनुभयो । पूर्वकुष्ठरोग बिरामीलाई समाजमा पुनस्र्थापित गराउन विभिन्न सहयोग उपलब्ध गराउँदै आएको बताउँदै उहाँले सचेतना तथा मनोविमर्श कार्यक्रमसमेत चलाउँदै आएको जानकारी दिनुभयो । गोरखापत्रबाट