ढल्केवर, धनुषा । धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरमा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर बर्दिवास महोत्तरीले निर्माण गरेको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन मिथिला नगरपालिकालाई हस्तान्तरण तथा उद्घाटन गरिएको हो ।
उद्घाटन गर्दै मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले नगरपालिकाबाट प्रवाह हुने कृषि र पशुजन्य सेवा थप प्रभावकारी हुने बताउनुभयो । किसानसम्म सहज र प्रभावकारी ढङ्गले सेवा सुविधा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले भवन निर्माणमा सहयोग गर्ने संस्था तथा पदाधिकारी लाई धन्यवाद प्रकट गर्नुभयो । उहाँले नयाँ भवनमा सुविधा सम्पन्न प्रयोगशालाको स्थापना समेत गरिएकाले कृषि र पशुपन्छीको उपचार खोज्न बाहिर जान नपर्ने जानकारी दिनुभयो ।
मिथिला नगरपालिकाका नगर उपप्रमुख सुनितासिंह बुढाथोकीले अत्याधुनिक सुविधासहित तयार गरिएको भवनबाट सञ्चालन गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्रले कृषि तथा पशुपालनको क्षेत्रमा ठूलो मद्दत गर्ने बताउनुभयो । यस नगरपालिकाका करिब ८० प्रतिशत जनता कृषि पेशामा आवद्ध रहेको बताउँदै आधुनिक प्रविधिका प्रयोगशालाको सहयोगले कृषि था पशुपालनमा वृद्धि गर्ने जानकारी दिनुभयो ।
आर्थिक करिडोर बर्दिवासले दुई करोड ४१ लाखको लागत दुई तले पक्की भवनसहित कृषि तथा पशुपन्छीमा लाग्ने रोगको पहिचान गर्न अध्याधुनिक प्रयोगशाला स्थापना गरेको छ ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर बर्दिवासका रविन्द्र महतोले कृषि तथा पशुपन्छी सम्बन्धी तालिम सञ्चालनका लागि हल, माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी प्रयोगशाला र अन्य आवश्यक सम्पूर्ण सुविधासहित भवन निर्माण गरिएको बताउनुभयो ।