
ढल्केवर, धनुषा । धनुषाको वीरेन्द्र बजारमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार ढल्केवरस्थित कोमल होटलको सभाकक्षमा शुभकमना सहकारी संस्थाका अध्यक्ष युवराज पहाडीको अध्यक्ष तथा गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख यादवले शेयर सदस्यहरुको सहकार्यमा छरिएर रहेको सानो–सानो पुँजीलाई एकीकृत गरेर शेयर सदस्यको जीवनस्तर उकास्न गरिने सहकार्यलाई सहकारी भनिएको बताउनुभयो । सहकारीले नेपालको उत्पादकत्व, रोजगारी र नेतृत्व विकासमा समेत महत्वपूर्ण योगदान गरिरहेको बताउँदै उहाँले पछिल्लो समय दिनहुँजसो सञ्चार माध्यममा सहकारीका विरुद्ध समाचार प्रकाशन भइरहेको चर्चा गर्नुभयो । यद्यपि यस सहकारी संस्थाले जनतालाई उत्कृष्ट सेवा दिँदै आएकोमा उहाँले शुभकामना बचत तथा ऋण सहकारी संस्था र त्यसका सञ्चालकलाई उत्तरोत्तर प्रगतिको शुभकमना दिनुभयो ।

सहकारी क्षेत्रले नेपालमा कृषि, पशुपालन, जडीबुटी पर्यटन, स्वास्थ्य, बचत ऋण र सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान गरिरहेको भए पनि केही सहकारीका सञ्चालकहरुको गलत कामले यो क्षेत्र पनि बदनाम भएको उहाँको भनाइ थियो ।
नगर प्रमुख यादवले भन्नुभयो, “सहकारीले आफ्ना कमी कमजोरीलाई सच्याउन जरुरी छ । अहिले बदनामीको तारो बचत तथा ऋण सहकारीहरुलाई बनाइएको छ । त्यो पनि मिटरब्याजसँग सहकारीलाई तुलना गरिएको छ । यो आरोप सर्वथा मिथ्या हो किनभने सहकारीको जन्म नै मिटरब्याजको विरुद्धमा भएको हो । यसले लाखौं जनताको जीवनस्तर उकासेको छ । गरिबबाट धनी बनाएको छ । यसको मूल मन्त्र नै आफ्ना सेयर सदस्यहरुलाई बचत गर्न सिकाएर धनी बनाउने हो ।”
साधारणसभामा सहकारीका अध्यक्ष पहाडीले आर्थिक वर्ष २०८०÷०८१ को प्रतिवेदन सार्वजनिक गर्दै शेयर सदस्यको स्वास्थ्य उपचारमा सहुलियत, बिमा र सीपमुलक तालिम व्यवस्था गरिएको बताउनुभयो । उहाँले छरिएर रहेको पुँजीलाई संकलन गरी उत्पादनशील र व्यवसायिक क्षेत्रमा लगानी गर्दै आएको बताउँदै सेवा क्षेत्र तीन जिल्लामा पु¥याउन लक्ष्य रहेको जानकारी दिनुभयो ।
साधारणसभाको अवसरमा संस्थाले उत्कृष बचतकर्ता, उत्कृष्ट दैनिक, उत्कृष्ट मासिक, उत्कृष्ट बचत र उत्कृष्ट ऋणी गरी १५ जनालाई सम्मान गरेको छ ।
विरेन्द्र बजारलाई सेवा क्षेत्र बनाएर विगत तीन वर्षदेखि रहेको यस सहकारी संस्थामा ४७९ जना कूल शेयर सदस्य छन् । जसमध्ये १४८ जना पुरुष र ३३१ ज्ना महिला शेयर सदस्य रहेका छन् ।

