ढल्केबर, धनुषा
धनुषाको सहिदनगर नगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । यदुकुहास्थित प्राथमिक स्वास्थ्य केन्द्रको हाताभित्र स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।
सहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेशप्रसाद यादवले स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उहाँले नगरबासीलाई सर्वसुलभ र स्वास्थ्यको पहुँचमा ल्याउन नगरपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।
नगर प्रमुख यादवले नगरपालिकद्वारा आकस्मिक उपचार सेवा र आफ्नै फार्मेसीसमेत सञ्चालन गरिरहेको बताउँदै औषधि खरिदमा ७० वर्षमाथिका ज्येष्ठ नागरिक सेवाग्राहीलाई शतप्रतिशत निःशुल्क र त्यसभन्दा कम उमेरका ज्येष्ठ नागरिकलाई ९० प्रतिशत छुट दिने बताउनुभयो ।
आकस्मिक उपचार सेवालाई थप व्यवस्थित बनाउँदै लैजाने बताउँदै उहाँ भन्नुभयो, “अहिले नगरपालिकाद्वारा प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक अस्पताल सञ्चालनमा छ । यस स्वास्थ्य केन्द्रलाई नै स्तरोन्नति गरी नगर अस्पतालको रुपमा सञ्चालन गर्न पहल गरिरहेको छु ।” स्वास्थ्य बिमा कार्यक्रमले स्थानीय नागरिक सहज र सरल तरिकाले स्वास्थ्य सेवा पाउने हुँदा स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिन नगर प्रमुख यादवले सबैलाइ आग्रह गर्नुभयो ।