धनुषाको धनुषाधाम–१ मा उपनिर्वाचन, तयारी पुरा

|

स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनको तयारी पुरा भएको छ । । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाधाम नगरपालिका–१ का अधिकृत चुडामणि खडकाले उपनिर्वाचनको तयारी पुरा भएको बताउनुभयो ।

निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीसहित मतदान केन्द्र तयार भइसकेको बताउँदै उहाँले निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतका कर्मचारी र सुरक्षाकर्मी परिचालनको काम पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

अधिकृत चुडामणिले भन्नुभयो, “वडाध्यक्ष पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाले उम्मेदावरी दर्ता गराउनुभएको छ । वडामा तीन हजार २२६ मतदाता छन् । मतदानका लागि आधारभूत विद्यालय मगराहा, तत्कालीन गाविस भवन गोविन्दपुर र ठाकुर स्मृति प्रतिष्ठान सामुदायिक भवन गरी चार वटा मतदान केन्द्र रहेको छ । सबै मतदान केन्द्र पाँच–पाँच जना कर्मचारी खटाइएको छ ।” मतदान सम्पन्न भएसँगै मतगणना स्थलमा सर्वदलीय बैठक बसेर सोही दिन नै मतगणना सुरु गर्ने उहाँले बताउनुभयो ।

निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको बताउँदै उहाँले मतदान केन्द्र भित्र जनपद प्रहरी रहने त्यसबाहेक सशस्त्र प्रहरी र नेपाली सेनाले समेत बाहिरी घेराबाट सुरक्षा प्रदान गर्ने जानकारी दिनुभयो ।

२०७९ वैशाखमा भएको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका विश्वनाथ यादवको २०८१ जेठ ३१ मा निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।