
मधेश प्रदेशका सभासदस्य हरिनारायण महताले सहकारी संस्था अर्थतन्त्रको टेको भएको बताउनुभएको छ । । शनिबार धनुषाको ढल्केवरमा नमूना बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले केही सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको रकम दुरुपयोग गरेको घटना सार्वजानिक भइरहेको भएपनि देशको अर्थतन्त्र टिकाउन चारवटा खम्बामध्ये सहकारी संस्था पनि एक भएको जिकिर गर्नुभयो । सभासदस्य महतोले विपन्न र बेरोजगारलाई बिना धितो कर्जा प्रदान गरेर समाजको आर्थिक निर्माणमा समेत ठूलो सहयोग गरिरहेको उल्लेख गर्दै विपन्न वर्गका जनताको आर्थिक र सामाजिकरुपमा रुपान्तरण गर्नका लागि पनि सहकारी संस्था उपयुक्त माध्यम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, नेपालमा गरिवी निवारण सम्बन्धी जतिपनि कार्यक्रमहरु भएका छन् । ति कार्यक्रमहरु लक्षित वर्गसम्ममा पुग्न नसकेको बेला सहकारी संस्थाले त्यस्तो वर्गलाई समेट्दै पूँजी अभावका कारण निष्क्रिय रहेका जनशक्तिलाई समेटेर आयमुलक एवम् व्यवसाय मुलक कार्यमा लाग्न प्रेरित गरी सहकारीले एउटा समृद्ध समाज निर्माणमा ठूलो भूमिका खेलेको उहाँको भनाइ थियो ।
यसैगरी, मिथिला नगरपालिकाका नगर उपप्रमुख सुनितासिंह बुढाथोकीले सहकारी संस्थाले मानिसलाई बचत गर्न सिकाएर व्यक्तिगत एवम् राष्ट्रिय पूँजी निर्माणमा ठूलो योगदान पु¥याएको बताउनुभयो । थोरै पैसाको लागि भौतारिनु पर्ने अवस्थाका अन्त्य गर्दै सहकारी संस्थाले समुदायको जीवनस्तर माथि उठाउन र समाज उत्थानमा यसले सहयोग पु¥याएको भन्दै उहाँले सहकारीलाई एउटा नियमको दायराभित्र राख्न मिथिला नगरपालिकाले सहकारी ऐन ल्याएको जानकारी दिनुभयो ।
सहकारीका अध्यक्ष नारायण बास्तोलाले सहकारीको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक शेयर सदस्यको एक लाख रुपियाँसम्मको दुर्घटना जीवन बिमा गरिने जानकारी गराउँदै संस्थाको शेयर पुँजी २ करोड २३ लाख ४२ हजार ६०० सयबाट बढाएर २ करोड ५५ लाख पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।
साधारणसभाले बोल्दै उहाँले शेयर सदस्यको मृत्युउप्रान्त नीजको परिवारलाई १० हजार क्रिया खर्च, सुत्केर शेयर सदस्यलाई सहयोगस्वरुप दुई हजार, विपत्तमा परेका शेयर सदस्यलाई प्रकृति हेरि दुईदेखि १० हजार रुपियाँ नगद वा सो बराबरको जिन्सी उपलब्ध गराउने बताउनुभयो ।
साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट दैनिक बचतकर्ता, उत्कृष्ट मासिक बचतकर्ता, र उत्कृष्ट ऋणीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । यसैगरी, संस्थाको सामाजिक दायित्वअन्तर्गत महेन्द्र माध्यमिक विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय केमलीपुरका गरी १४ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।