धनुषाधाम–१ मा मतदान सुरु, वडाध्यक्षका लागि २० जना मैदानमा

|

स्थानीय तह उपनिर्वाचन अन्तर्गत धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाधामका निर्वाचन अधिकृत चुडामणी खडकाका अनुसार निर्धारित समय मङ्सिर १६ गते बिहान ७ बजेदेखि यहाँका तीन वटा मतदान स्थलका चार केन्द्रमा मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

२०७९ वैशाखमा भएको स्थानीय तहको नर्वाचनबाट वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका विश्वनाथ यादवको २०८१ जेठ ३१ मा निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जना उम्मेदवार चुनावी मैदानमा छन् । वडामा तीन हजार २२६ मतदाता छन् । मतदानका लागि आधारभूत विद्यालय मगराहा, तत्कालीन गाविस भवन गोविन्दपुर र ठाकुर स्मृति प्रतिष्ठान सामुदायिक भवन गरी चार वटा मतदान केन्द्र मतदान भइरहेको छ । सबै मतदान केन्द्र पाँच–पाँच जना कर्मचारी खटाइएको छ

मतदान सम्पन्न भएसँगै मतगणना स्थलमा सर्वदलीय बैठक बसेर आजै मतगणना सुरु गरिने निर्वाचन अधिकृत खडकाले बताउनुभयो । निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । मतदान केन्द्र भित्र जनपद प्रहरी रहने त्यसबाहेक सशस्त्र प्रहरी र नेपाली सेनाले समेत बाहिरी घेराबाट सुरक्षा प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।