लघुवित्तका कारण गरिबी न्यूनीकरण

|

विजयकुमार साह
ढल्केबर, धनुषा ।
मधेश प्रदेशसभाका सदस्य एवं सचेतक हरिनारायण महतोले लघुवित्त वित्तीय संस्थाहरूले देशमा गरिबी न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । धनुषाको ढल्केवरमा आयोजित मिथिला लघुवित्त वित्तीय संस्थाको १६ औं वार्षिक साधारणसभामा बोल्दै उहाँले लघुवित्तले गरिब र सीमान्तकृत वर्गलाई आर्थिक रूपमा सक्षम बनाएको उल्लेख गर्नुभयो ।

महतोले पञ्चायतकालमा सरकारले गरिबी निवारण कार्यक्रम ल्याएको भए पनि त्यसबाट खासै प्रभावकारी नतिजा आउन नसकेको धारणा राख्दै भन्नुभयो, “त्यतिबेला गरिबी निवारणको प्रयास भए पनि उल्लेख्य सफलता हासिल भएन । अहिले गरिबी न्यूनीकरणमा लघुवित्त र सहकारीहरूले मुख्य भूमिका खेलेका छन् ।”

महतोका अनुसार अघिल्लो समय पुँजीको अभावले गर्दा सीप भएका मानिसहरूले आफ्नो उद्यम सुरु गर्न सकेका थिएनन् । साहु महाजन वा बैङ्कले धितो नहुँदा ऋण दिन अस्वीकार गर्थे । तर, लघुवित्त संस्थाहरूले समूह बनाएर बिना धितो ऋण प्रवाह गर्न थालेपछि धेरै गरिबहरु स्वरोजगार बनेका छन् । “जोसँग सीप छ, जाँगर छ, तर पुँजी छैन, तिनलाई लघुवित्तले ऋण उपलब्ध गराएको छ । यसले गर्दा धेरै गरिबहरू आत्मनिर्भर बनेका छन्,” महतोले भन्नुभयो ।

मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकीले घुवित्त संस्थाहरूले गरिब वर्गलाई साना–साना ऋण दिएर स्वरोजगार सिर्जना गर्न मद्दत गरेको बताउनुभयो । यसले ग्रामीण क्षेत्रमा साना उद्यम, कृषि, र अन्य व्यवसायको विस्तारलाई सहज बनाएको जानकारी दिनुभयो ।
नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष डा. सोहन साहले बैङ्क प्रणालीको विफलताको कारण धेरैले साहु महाजनबाट ऋण लिनुपर्ने अवस्थाको आलोचना गरे । “देशभरबाट ब्याजी समस्याबारे २८ हजार उजुरी परेको छ, जसमध्ये दुई तिहाइ उजुरी मात्र मधेश प्रदेशबाट आएको छ । यो विफलताका लागि बैंक तथा वित्तीय संस्थाहरूले जिम्मेवारी लिनुपर्छ,” उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र बैङ्क जनकपुरका प्रमुख माधव दंगालले लघुवित्तको दिगो भविष्यको सम्भावना औंल्याउँदै लघुवित्त संस्थाहरू मर्मअनुसार चलाइयो भने अझ प्रभावकारी परिणाम दिनसक्ने बताउनुभयो ।
उहाँले पछिल्लो ३० वर्षमा गरिबी न्यूनीकरणमा लघुवित्तको भूमिकाबारे तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “३० वर्षअघि नेपालको ४५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो। तर, अहिले यो संख्या घटेर १६ प्रतिशतमा झरेको छ । यसमा लघुवित्तको योगदान उल्लेखनीय छ।”