सन्तानको चाहनामा ठगीको शिकार

|

धनुषा, ढल्केबर ।
सन्तानको अभावमा मानसिक तनाव झेल्दै आएकी धनुषाको मिथिला बिहारी नगरपालिका–२, पुरनदाहाका कलावती मण्डल ठगीको शिकार भएकी छन् । साधुको भेषमा गाउँ आएका एक व्यक्तिले उहाँको तीन लाख पचास हजार रुपैयाँ नगद र झन्डै तीन तोला सुनको गहना ठगेर लगेको खुलासा भएको छ ।

कलावतीको विवाह भएको २० वर्ष भइसकेको छ तर सन्तानको जन्म नभएपछि उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । यसै अवस्थालाई अवसरका रूपमा प्रयोग गर्दै साधुले उहाँलाई पूजापाठ गरेपछि सन्तान प्राप्तिको आश्वासन दिनुभयो ।

मङ्सिर महिनामा साधारण व्यक्तिका रुपमा गाउँ आएका साधुले स्थानीयको ध्यान आकर्षण गर्न विभिन्न चमत्कारिक गतिविधि प्रदर्शन गर्दै आएका थिए । साधुले माटोलाई सिन्दरमा बदल्ने जस्ता चमत्कार देखाएर गाउँभरि श्रद्धा र आस्थाका पात्र बनेका थिए ।

ठगीमा परेकी कलावतीले साधुले सन्तान प्राप्तिका लागि विशेष मन्त्र सिद्ध गर्नुपर्ने बताउँदै पाँच जना विवाहित महिलाको मङ्गलसुत्र ल्याउन भनेपछ आफ्नो र नातेदार महिलाहरुको मङ्गलसुत्र मागेर साधुलाई दिएको बताउनुभयो । साधुले कार्य सफल पार्न नगद तीन लाख पचास हजार रुपियाँ समेत लिएको उहाँले जानकारी दिनुभयो । पैसा र सुनका गहना लिएपछि एकाएक फरार भएपछि आफू ठगीमा परेको कलावतीको भनाइ छ ।

स्थानीयका अनुसार ठगिएपछि कलावती मानसिक तनावमा पर्नुभएको छ । उहाँको परिवारले गुमाएको सम्पत्ति फिर्ता हुने कुनै आश छैन । यो घटनाले कलवातीको परिवार बिच्चलीमा परेका छन् । धार्मिक विश्वासको दुरुपयोग गर्दै ठगी गर्ने घटनाहरू मधेस क्षेत्रमा बारम्बार दोहोरिएको स्थानीय पूजा मण्डलले बताउनुभयो । यस घटनाले धार्मिक अन्धविश्वासको चंगुलमा परेर ठगीको शिकार बन्ने जोखिमलाई उजागर गरेको छ । सामाजिक सङ्घ–संस्थाहरू र स्थानीय निकायहरूले यस्ता समस्याबारे जनचेतना फैलाउन तत्काल कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।

सोही ठाउँका जयशङ्कर मण्डलले गाउँमा शिक्षाको अभाव र अन्धविश्वासको कारणले यस्ता ठगीका घटना भएको बताउनुभयो । ठगहरुले चमत्कारको आडमा ग्रामीण भेगका सर्वसाधरणलाई आफ्नो जालमा फसाउने गरेको जानकारी दिनुभयो ।