
ढल्केबर, धनुषा
धनुषाको मिथिला विहारी नगरपालिका–३ स्थित मिथिला कल्चरल भिलेजमा महोत्तरी र धनुषाका ३६ जना युवालाई तीन दिने सर्प व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ । मिथिला वाइल्डलाइफ ट्रस्टको आयोजना तथा सेभ द लाइभ्सको समन्वय र पिपल ट्रीको सहयोगमा तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागी वकिल मुखियाले तालिमबाट अब मानिस र सर्प दुवैलाई कसरी व्यवस्थापन गर्ने भन्ने व्यावहारिक ज्ञान पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सर्पको टोकाइबाट समयमै उपचार नपाएर मृत्यु भएको धेरै घटनाहरू देखेको छु । अब भने प्राथमिक उपचार र अस्पताल पु¥याउने प्रक्रियाबारे सचेत भएको छु ।”
तालिममा सर्पको प्रजाति चिन्ने, विषाक्त सर्प र विषरहित सर्पको पहिचान गर्ने, सर्पको टोकाइ भएमा गरिने प्राथमिक उपचार र अस्पताल पु¥याउने प्रक्रियाबारे जानकारी प्राप्त भएको मुखियाले बताउनुभयो । अब घरमा सर्प छिरेको अवस्थामा मानव र सर्प दुवैलाई सुरक्षित राख्नसक्ने सीप मैले सिकेको उहाँको भनाइ छ ।
प्रशिक्षकहरू रोहित गिरी, सुबोध आचार्य र देवनारायण मण्डलले सहभागीलाई सर्पको पहिचान, सर्पबाट पर्यावरणमा हुने योगदान, सर्पसँग सहजीविता कायम गर्ने उपाय, सर्पको टोकाइ भएमा गरिने प्राथमिक उपचार र उद्धार विधिहरूमा तालिम दिनुभयो ।
मथिला वाइल्डलाइफ ट्रस्टका संस्थापक अध्यक्ष देवनारायण मण्डलले तालिमपछि प्रशिक्षार्थीहरूले आगामी एक महिना समुदायमा रहेर तालिममा सिकेका कुराहरू साझा गर्ने र सर्प देखिएमा ट्रस्टलाई जानकारी गराउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्धार टोलीसँग सहकार्य गरेर प्रशिक्षार्थीहरू थप दक्ष हुनेछन् ।”
मण्डलले पहिलो चरणमा सिद्धान्त र सामान्य जानकारी दिइएको उल्लेख गर्दै प्रशिक्षार्थीहरूमा कुशल सर्प उद्धारकर्ता बन्ने सम्भावना रहेको बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरूले आगामी दिनमा पर्यावरणमैत्री ढङ्गले सर्प संरक्षण र मानव सुरक्षाको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।