बटेश्वरका युवा सरकारी सेवामा पहुँच बढाउँदै

|

विजयकुमार साह

ढल्केबर, धनुषा ।
धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका युवा पछिल्लो समय सरकारी सेवामा उल्लेखनीय सफता हासिल गरिरहका छन् । शिक्षित युवाको सङ्ख्या बढ्दै जाँदा लोकसेवा आयोग पास गरेर सरकारी सेवामा प्रवेश गर्नेहरूको सङ्ख्या उल्ल्ेखनीय रुपमा बढेको छ ।

बटेश्वरका स्थानीय दीपेन्द्र सिंहका अनुसार सुरक्षित जागिर, नियमित सेवासुविधा, र सामाजिक प्रतिष्ठासँग जोडिएकाले पनि यहाँका युवा सरकारी सेवाप्रति आकर्षित भएका हुन् । यहाँका अभिभावकले छोराछोरीलाई पढाएर दक्ष बनाउने सोच राखेका छन् । वैदेशिक रोजगारमा रहेका अभिभावकले पनि आफूले भोगेको दुःख छोराछोरीले भोग्न नपरोस् भनेर शिक्षामा लगानी गरेका छन् ।

पूर्व पत्रकारसमेत रहेका सिंहले भन्नुभयो, “पछिल्ला दुई वर्षमा धनुषा जिल्लामा लोकसेवा पास गर्नेहरूमा बटेश्वर गाउँपालिकाका युवाको सङ्ख्या उच्च छ । यहाँका धेरैजसो अभिभावक मध्यम वर्गीय किसान हुन् जसले शिक्षाको महत्त्व बुझेर आफ्ना सन्तानलाई शिक्षित बनाउन जोड दिएका छन् ।” यसमा स्थानीय तह तथा सरकारी निकायको खासै योगदान नभएर अभिभावकहरु स्वस्फूर्तरुपमा छोरा शिक्षित बनाउनमा लागेको सिंहको भनाइ छ ।

गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय स्रोतअनुसार हालसम्म करिब तीन सयदेखि चार सय युवाले लोकसेवा पास गरी सरकारी सेवामा योगदान पु¥याएका छन् । यद्यपि यसबारेमा यकिन तथ्याङ्क सङ्कलन भने चुनौतीपूर्ण रहेको छ ।

शिक्षक सेवा आयोगमार्फत प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका शिक्षकका रूपमा थुप्रै जनाले काम गरिरहेका छन् । त्यस्तै, स्टाफ नर्स, स्वास्थ्य सहायक, र मेडिकल अफिसरजस्ता स्वास्थ्य सेवाका पदहरूमा पनि यहाँका व्यक्ति कार्यरत छन् । बटेश्वरका युवा नेपाल प्रशासन सेवा, लेखा, निरीक्षक तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनामा समेत सक्रिय छन् ।

कलाकार फुलगेन मगहीले यहाँ सरकारी सेवामा प्रवेश गर्ने लहर नै चलेको बताउनुभयो । सरकारी जागिर युवाको पहिलो रोजाइ बनेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसले नयाँ पिढीमा पछिल्लो समय लोकसेवा तयारी गर्ने उत्साह बढेको छ । निजी तयारी कक्षाका साथै अनलाइन माध्यमबाट पनि तयारीमा जुटेका छन् । सरकारी सेवामा पुगेका युवाहरूले गाउँमा आफ्नो अनुभव बाँड्दै तयारी कक्षा सञ्चालन गर्न थालेका छन् । यसले आगामी वर्षमा सरकारी सेवामा प्रवेश गर्ने युवाको सङ्ख्य अझै बढ्ने अपेक्षा गरिएको छ ।

स्थानीय राजकिशोर महतोले यस ग्रामीण क्षेत्रका युवाले देखाएको परिश्रम उदाहरणीय रहेको बताउँदै गाउँपालिकाले अझ प्रभावकारी कार्यक्रम ल्याउन सके यस क्षेत्रका युवाहरूको सफलता अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो । यहाँका युवाको सरकारी सेवामा बढ्दो सहभागिताले यहाँको शैक्षिक र सामाजिक चेतनाको विकासलाई उजागर गरेको छ । यदि स्थानीय तह र अभिभावकको पहल निरन्तर रह्यो भने बटेश्वर उदाहरणीय नमुना क्षेत्रका रूपमा स्थापित हुने उहाँले बताउनुभयो ।

बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले शिक्षाको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले समय–समयमा लोकसेवा तयारी कक्षाको आयोजना गर्दै आएको छ । “सरकारी सेवामा पुगेका व्यक्तिहरू हाम्रो गाउँको प्रेरणाका स्रोत हुन् । हामी आगामी दिनमा तयारी कक्षाको स्तरोन्नति गर्दै प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने योजना छ,” अध्यक्ष महतोले भन्नुभयो । गोरखापत्रबाट