
विजयकुमार साह
ढल्केबर, धनुषा ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, हथराटोलका सयौँ बालबालिका अझै पनि विद्यालयको पहुँचबाट टाढा छन् । गाउँ नजिकै सामुदायिक विद्यालय नहुँदा त्यहाँका बालबालिका पढाइबाट बञ्चित भएका हुन् । मुख्यतः गरिब र अल्पसङख्यक मुखिया समुदायका बालबालिका शिक्षाको आधारभूत अधिकारबाट बञ्चित रहेको स्थानीयको भनाइ छ ।
नगरपालिकाको सदरमुकाम महेन्द्रनगरबाट ६ किलोमिटर पूर्वमा रहेको यो टोलमा हालसम्म कुनै सामुदायिक विद्यालय सञ्चालनमा छैन । स्थानीयका अनुसार २०५० साल स्थापना गरिएको सामुदायिक विद्यालय १२ वर्षअघि बन्द भएको छ । सामुदायिक विद्यालय बन्द भएपछि यहाँका बालबालिका शिक्षाबाट बञ्चित भएको हो ।
स्थानीय बजरङ्गी मुखियाले गाउँमा सामुदायिक विद्यालय नभएकाले छोराछोरीलाई पढाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँदेखि दुई किलोमिटर टाढा सामुदायिक विद्यालय छ । स–साना छोराछोरीलाई पैदल त्यति टार्ढा पठाउन सकिँदैन । हुने खाने परिवारका छोराछोरी बस चढेर संस्थागत विद्यालय पढ्न जान्छन् । हामी गरिब त्यति पैसा खर्च गरेर पढाउन सक्दैनाँै ।” गाउँको करिब दुई सय बालबालिका पढाइबाट बञ्चित रहेको मुखियाले जानकारी दिनुभयो ।
वडाध्यक्ष अवधकिशोर यादवले विद्यालय सञ्चालनका लागि प्रयासरत रहेको बताउनुभयो । उहाँले आफू निर्वाचित भएदेखि नै यो विषयलाई प्राथमिकतामा राखेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “वडास्तरीय प्रयासबाट विद्यालयका लागि भवन निर्माण गरिएपनि शिक्षक अभावका कारण विद्यालय सञ्चालन गर्न सकिएको छैन् । नगरपालिकाले शिक्षकको व्यवस्थापन गरिदिए विद्यालय सञ्चालन गर्न सकिन्थ्यो ।” विद्यालय सञ्चालन गर्न शिक्षकको समस्या रहेको वडाध्यक्ष यादवले बताउनुभयो ।
हथरा टोलमा रहेका कलिला बालबालिकालाई टाढाको विद्यालयमा जान कठिनाइ भएको र निजी विद्यालयमा भर्ना गर्ने आर्थिक अवस्था नभएका कारण गरिब तथा अल्पसङ्ख्यक मुसहर समुदायका बालबालिका शिक्षाबाट वञ्चित भएको स्थानीय रञ्जित कुर्मीले बताउनुभयो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपक खत्रीका अनुसार सो ठाउँमा पहिले विद्यालय सञ्चालनमा रहेको भए पनि दर्ता खारेज भएपछि समस्या भएको हो । “वडाध्यक्षले विद्यालय सञ्चालनका लागि प्रयास गरिरहनुभएको छ, तर शिक्षकको समस्याले पठनपाठन सुरु हुन सकेको छैन् । शिक्षक भर्ना गर्न बजेट अभाव र जनप्रतिनिधिहरूको सहकार्यको अभावले प्रक्रिया अघि बढ्न सकेको छैन,” खत्रीले भन्नुभयो ।
वडाध्यक्ष यादवले बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न सरोकारवालासँग समन्वय गरेर समस्या समाधान गर्ने बताउनुभयो । उहाँले नगरपालिकाको सहयोग पाउन सके छिट्टै विद्यालय सञ्चालनमा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय नहुँदा सयौँ बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपरेको यो समस्या समाधानका लागि नगरपालिकाले शीघ्र कदम चाल्न आवश्यक देखिन्छ । स्थानीय सरकारको सक्रियता र सबै पक्षको सहकार्यले मात्रै बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिने स्थानीयको भनाइ छ । गोरखापत्रबाट