धनुषाको क्षीरेश्वरनाथमा गैरकानुनी पञ्चायत, पीडितमाथि कुटपिटको प्रयास

|

ढल्केवर, धनुषा । धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकामा कानुनविपरीत बसेको पञ्चायतले पीडित व्यक्तिमाथि कुटपिटको प्रयास गरेको घटना बाहिरिएको छ । पञ्चायती व्यवस्था खारेज भइसकेको लामो समय भए पनि अहिले पनि स्थानीय तहमा केही व्यक्तिहरूले व्यक्तिगत झगडाहरू मिलाउन गैरकानुनी पञ्चायत बसाउने क्रम रोकिएको छैन ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्बरपुरका जयकुमार महतो घर निर्माणका क्रममा शाखा बाटोमा ढुङ्गा राखिरहेका थिए । छिमेकी रामकुमार महतोले खेतमा जान असहज भएको भन्दै गाली–गलौज गरेपछि विवाद सुरु भएको थियो । भनाभनकै क्रममा रामकुमारले जयकुमारको नाकमा हानेर समान्य घाइते बनाएका थिए ।

घटनापछि आक्रोशित जयकुमारले रामकुमारको मोटरसाइकललाई खसालिदिए जसले मोटरसाइकलमा सामान्य क्षति पुगेको थियो ।
घटनाको समाधान गर्न गाउँका केही व्यक्तिहरूले पञ्चायत बोलाए । तर पञ्चायतले उल्टै पीडित जयकुमारलाई आर्थिक दण्ड लगाउने निर्णय गरेपछि उनले असहमति जनाए । त्यतिमात्र होइन, रामकुमारले जयकुमारमाथि झुटो आरोप लगाउँदै दुई आनाको सुन हराएको दाबी गरे ।

जयकुमारले पञ्चायतको निर्णयमाथि प्रश्न उठाएपछि पञ्चायतमा उपस्थित केही व्यक्तिहरूले उनलाई र उनका भाइलाई कुटपिट गर्ने प्रयास गरेका थिए । जयकुमारले आफू गाउँमा असुरक्षित भएको बताउँदै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिएका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज सोनु कुमार साहले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । उनले कानुनविपरीत पञ्चायत बसाल्ने कुनै पनि कार्यलाई निस्तेज पार्ने आश्वासन दिएका छन् ।

गाउँमा पञ्चायतजस्ता गैरकानुनी प्रक्रिया कानुनले प्रतिबन्ध गरेको भए पनि, सामाजिक र सांस्कृतिक परम्पराको नाममा यस्ता कार्यहरू अझै जारी छन्। कानुन विशेषज्ञहरूका अनुसार यस्ता गतिविधिहरूले व्यक्तिगत स्वतन्त्रता र कानुनी प्रक्रियालाई चुनौती दिने गरेका छन्।
पीडित जयकुमारले न्यायका लागि प्रहरीमा निवेदन दिएको भए पनि, गाउँस्तरमा अझै पनि गैरकानुनी पञ्चायती परम्पराको निरन्तरताले समस्या बल्झाउँदै गएको छ। यस्ता घटनाले कानुनी शासनलाई कमजोर बनाउनुका साथै पीडित व्यक्तिलाई थप अन्याय सहन बाध्य पार्ने जोखिम रहन्छ।