
ढल्केबर, धनुषा ।
मधेश प्रदेशका तीन लाखभन्दा बढी किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले तीन लाख ६९ हजार १२४ जना किशोरीलाई माघ २२ गतेदेखि फागुन ६ गतेसम्म एचपीभी खोप लगाउने भएको हो ।
निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले प्रदेशका आठ जिल्लामा खोप कार्यक्रमका लागि कक्षा ६ का विद्यार्थी (१० वर्ष) र ११ देखि १४ वर्ष उमेर समूहका विद्यालयभित्र र बाहिर रहको किशोरीलाई खोप लगाउने बताउनुभयो । विद्यालयभित्रका दुई लाख ९३ हजार ९१३ जना र विद्यालय बाहिर रहेका ७५ हजार २११ जना किशोरीलाई खोप लगाइने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप लगाउनका लागि प्रदेशमा तीन हजार ६७१ वटा खोप केन्द्र तोकिएको छ । त्यति नै सङ्ख्या खोप लगाउने स्वास्थ्यकर्मी तोकिएको छ । त्यस्तै, सात हजार ३४२ जना स्वयंसेविका परिचालन गरिने छ भने एक हजार २७४ जना सुपरभाइजर परिचालन गरिने छ ।
धनुषामा सबैभन्दा बढी किशोरी रहेका छन् । विद्यालयमा अध्ययनरत ४३ हजार ६४४ र विद्यालय बाहिरका १२ हजार ६३८ जना गरी कुल ५६ हजार २८२ जनालाई खोप लगाइने छ । त्यस्तै, पर्सामा ३८ हजार ६८६, बारामा ४५ हजार ५३५, रौतहटमा ४९ हजार २६९, सर्लाहीमा ५१ हजार ७२४, महोत्तरीमा ४५ हजार २८२, सिरहमा ४५ हजार ४६३ र सप्तरीमा ३६ हजार ७०१ जना रहेका छन् ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक श्रवणकुमार नायकले किशोरीहरुको पाठेघर मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान सञ्चालन गर्न सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरी सोही आधारमा आवश्यक जनशक्ति तयार गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विज्ञहरुले एचपीभी खोप सुरक्षित रहेको दाबी गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले समेत यो खोप गुणस्तरीय भनेर प्रमाणित गरेको छ । खोप लगाउन डराउनु पर्ने छैन् ।” पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिन एचपीभी खोप लक्षित किशोरीले अनिवार्य लगाउनुपने निर्देशक नायकले बताउनुभयो ।