
ढल्केबर, धनुषा ।
इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले विभिन्न समयमा बरामद गरेको पाँच सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले अवैध मदिरा उत्पादन र यसको प्रयोगले समाजमा नकारात्मक असर पारेकाले यसलाई पूर्णरुपमा रोक्न बरामद मदिरा खाडलमा खन्याएर नष्ट गरिएको बताउनुभयो । अवैध मदिरा उत्पादन र बिक्री वितरणमा सङ्लग्न व्यक्तिलाई निगरानीमा राख्दै कारबाही प्रक्रिया पनि अघ बढाइएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले आगामी दिनमा पनि अवैध मदिरा नियन्त्रणका लागि नियमित जाँच र कारबाहीलाई निरन्तरता दिने जनाएको छ । यस अभियानमा स्थानीय बासिन्दाको सक्रिय सहभागिताले अवैध मदिरा निर्मूल गर्न सहज हुने अपेक्षा गरिएको प्रहरी निरीक्षक यादवको भनाइ छ ।
मदिरा नष्ट गर्ने क्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवाहरू, बुद्धिजीवीहरुको पनि उपस्थिति रहेको थियो । इलाका प्रहरी कार्यालय ढल्केवरले यसअघि पनि तीन सय लिटर मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।