दुधमती मन्दिरमा मुण्डन मेलाको तयारी

|

ढल्केबर, धनुषा ।

धनुषाको महेन्द्रनगरस्थित दुधमती मन्दिर प्रत्येक सालझै यसवर्ष पनि दनुवार समुदाय मुण्डन मेला महोत्सव गर्ने भएको छ । सोमबार सरस्वती पूजाको दिन मुण्डन मेला गर्न लागेको हो । दनुवार समुदायले सो मेला महोत्सवको आयोजना गर्दैआएको छ । त्यसदिन दनुवार समुदायले आफ्नो बालबालिको पहिलो कपाल मुण्डन गरी दुधमती मन्दिरमा चढाउने चलन छ । परापूर्वदेखि सरस्वती पूजाकै दिन यस मन्दिरमा आएर दनुवार समुदायका बालबालिको कपाल मुण्डन गर्ने चलन रहेको स्थानीयको भनाइ छ ।

स्थानीय मनोज दुनुवारका अनुसार यो परम्परा परापूर्वकालदेखि चल्दै आएको छ । पूर्वजको सम्झनामा यहाँस्थित मन्दिरमा दनुवार समुदायका बालबालिको कपाल मुण्डन गरी चढाउने चलन रहेको उनले बताए । देशभरका दनुवार समुदाय आ–आफ्नो बालबालिकाको कपाल मुण्डन गराउन यसै स्थानमा आउने गरेको उहाँको भनाइ छ ।

स्थानीय बासिन्दा मनोजले भने, “जहाँसुकै बसोबास गरेपनि दनुवार समुदायले आफ्नो कपाल मुण्डन गराउने ठाउँ यहीँ हो । यस दिन हजारको सङ्ख्यामा दनुवार समुदाय यहाँ आउने गरेका छन् । त्यसैले त्यस दिन मेला महोत्सवको आयोजना गरेर दनुवार समुदायको सँस्कृति झल्कने कार्यक्रम समेत गरिँदै आएको छ ।”

परम्परागत रूपमा बालकको पहिलो कपाललाई अशुद्धताको प्रतीक मानिन्छ । दुधमती मन्दिरमा मुण्डन गराई देवीलाई चढाएपछि बालकको जीवन पवित्र र शुभ हुने विश्वास गरिएको छ । सरस्वती पूजा जस्तो पवित्र दिनमा मुण्डन गराउनुले धार्मिक आस्था र सांस्कृतिक झल्काउँछ । केही ऐतिहासिक, धार्मिक र सांस्कृतिक मान्यतामा भएकाले यो समुदाय पुस्तौँदेखि निरन्तर यसको पालना गर्दै आएको उनले बताए ।