धनुषामा ट्रान्सफर्मर चोरीको घटना बढ्दो, किसान चिन्तित

|

विजयकुमार साह
ढल्केबर, धनुषा ।
धनुषा जिल्लामा पछिल्लो समय सिँचाइका लागि जडान गरिएको विद्युत ट्रान्सफर्मर चोरीका घटना बढेका छन् । मङ्गलबार मिथिला बिहारी नगरपालिका–५, ललियामा सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको छ । ट्रान्सफर्मर चोरी भएपछि स्थानीय किसान थप चिन्तित बनेका छन् ।

एक महिना अघिमात्र मिथिला नगरपालिका–१ मा सिँचाइ प्रयोजनका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको थियो । त्यसअघि मिथिला नगरपालिकाकै श्रीपुरमा भएको ट्रान्सफर्मर चोरीका कारण करिब २० विघा खेतको सिँचाइ पूर्ण रूपमा ठप्प भएको छ ।
स्थानीय किसानका अनुसार ट्रान्सफर्मर चोरीले सिँचाइ कार्य ठप्प हुँदा खेतीपातीमा समस्या उत्पन्न भएको छ । चोरी गर्ने समूहले विद्युत लाइन काटेर ट्रान्सफर्मर भुइँमा खसाल्ने र महँगो तामाको तार निकालेर लैजाने गरेको छ ।

मिथिला नगरपालिका–१, का वडाध्यक्ष जोगी महतोले भूमिगत पानी तानेर खेतबारी सिँचाइ गर्न जडान गरिएको विद्युत ट्रान्सफर्मर चोरी हुन थालेपछि किसान समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “चोरको कत्रो आँट, ११ हजार भोल्टको विद्युत लाइन काटेर ट्रान्सफर्मर सजिलै चोरर लान्छ । यस्तो कार्य गर्ने पक्कै पनि विद्युतको काम गर्ने हुनुपर्छ ।” ट्रान्सफर्मर चोरीले किसान मर्कामा परेकाले चोरी नियन्त्रण र सिँचाइ प्रबन्ध सुरक्षित बनाउन प्रभावकारी पहल हुनुपर्ने वडाध्यक्ष महतोको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरण तथा वितरण केन्द्र सखुवा महेन्द्रनगरका प्रमुख प्रविणकुमार मिश्रले चोरी हुनबाट जोगाउन ट्रान्सफर्मरलाई वेल्डिङ् गरेर निकाल्न नसक्ने गरी बनाएको बताउनुभयो । उहाँका अनुसार वेल्डिङ् गर्न छुटेका ट्रान्सफर्मर चोरी भएको छ ।

प्रमुख मिश्रले सिँचाइ योजनाका अधिकाङ्श ट्रान्सफर्मर टाढा खेतबारी र सुनसान ठाउँमा जडान गरेकाले पनिे चोरी हुने गरेको जानकारी दिनुभयो । त्यस्ता सिँचाइ योजना उपभोक्ता समितिमार्फत सञ्चालन भएकोले ट्रान्सफर्मरलाई चोरी हुनबाट जोगाउन गाउँ नजिक तथा मानिसले देखिने गरी सडक छेउ जडान गर्न समितिका पदाधिकारीलाई सुझाव दिँदै आएको उहाँले बताउनुभयो ।

चोरीका घटनामा वृद्धि भएपछि प्रहरीले विद्युत प्राधिकरणसँग मिलेर ३७ वटा ट्रान्सफर्मरलाई वेल्डिङ गरी सुरक्षित बनाउने प्रयास गरेको छ । तर, यी प्रयास पनि चोरको जुक्तिको अगाडि प्रभावकारी साबित हुन नसकेको स्थानीयको भनाइ छ । अधिकाङ्श सिँचाइ ट्रान्सफर्मर सुनसान चौरमा जडान गरिएको छ । रातको समयमा मानिसको निगरानी नहुँदा चोरको निशामा पर्ने गरेको छ ।

मधेश प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको तथ्याङ्क अनुसार धनुषा र महोत्तरीका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको आठ वटा ट्रान्सफर्मर चोरी भएका छन् । कार्यालयका इन्जिनीयर अलिशेल यादवका अनुसार यस कार्यालय मार्फत जडान गरिएको ट्रान्सफर्मरमध्ये चालू र गत आर्थिक वर्षमा गरी त्यति सङ्ख्यामा चोरी भएको हो ।

एउटा ट्रान्सफर्मर जडान गर्न करिब ५ लाख रुपैयाँ खर्च लाग्छ । डिपट्युबेलबाट ४० हेक्टर जमिनमा सिँचाइ सम्भव हुने भएकाले चोरीले ठूलो आर्थिक र कृषिजन्य क्षति पु¥याउँछ । अहिले धनुषा र महोत्तरीमा जडान गरिएका ४१ वटा डिपट्युबेलबाट सिँचाइ भइरहेको छ । एउटा ड्रिल ट्युवेल निर्माण तथा सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ लाग्ने गरेको इन्जिनियर यादवले बताउनुभयो । गोरखापत्रबाट