धनुषाको बिलट किसुन विद्यालय: सामुदायिक शिक्षामा उत्कृष्टताको उदाहरण

|

विजयकुमार साह
ढल्केबर, धनुषा ।

सामुदायिक विद्यालयहरूमा शैक्षिक स्तर खस्किएको गुनासो भइरहेका बेला धनुषाको सहीदनगर नगरपालिका–६, हठ्ठिपुरस्थित बिलट किसुन प्रगतिशील आधारभूत विद्यालय पालिकाकै नमुना विद्यालयको रूपमा पहिचान बनाएको छ । चिटिक्क परेका कक्षाकोठा, सफा खेलमैदान, शौचालय, पिउने पानीको राम्रो व्यवस्था, अनुशासित वातावरणमा पढाइ, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको नियमित उपस्थितिले पालिकाको उत्कृष्ट विद्यालयको पहिचान बनाएको हो ।

अधिकांश दलित तथा सीमान्तकृत समुदायका बालबालिकाले अध्ययन गर्ने यो विद्यालयले निजी विद्यालयलाई समेत टक्कर दिइरहेको छ । विद्यालयमा हाल तीन सय ७५ जना विद्यार्थी अध्ययनरत छन् । जसमा ९० प्रतिशत दलित तथा सीमान्तकृत समुदायका छन् । शिशु कक्षादेखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुने यस विद्यालयमा नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको प्रयोगमार्फत अध्ययन गराइन्छ ।

 

विद्यालयका प्रधानाध्यापक राजदेव ठाकुरले शिक्षण सिकाई र प्रविधिमैत्री पठनपाठनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षअघि अभिभावकहरू आफ्ना छोराछोरीलाई विद्यालय पठाउन हिच्किचाउँथे । तर, जब विद्यालयको वातावरण सुधार गर्दै प्रविधिको प्रयोग र अंग्रेजी माध्यमबाट पढाइ सुरु गरियो । तब समुदायको सोचमा परिवर्तन आउन थाल्यो ।” शिक्षामा सुधार र उत्कृष्ट व्यवस्थापनकै कारण गत वर्ष विद्यालयलाई नगरपालिकाले पालिकाको उत्कृष्ट विद्यालय घोषणा गर्दै पुरस्कृत गरेको उहाँले जानकारी दिनुभयो ।

प्रधानाध्यापक ठाकुरका अनुसार विद्यालयमा हाल बालविकास, करार तथा स्थायी गरी १० जना शिक्षक–शिक्षिका कार्यरत छन् । कक्षा ८ सम्म मात्र पढाइ हुने भएकाले विद्यार्थीहरूलाई थप अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता छ । विद्यालयले कक्षा १० सम्म अध्ययन गराउन आवश्यक पहल गरिरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशनकुमार यादवले शिक्षा र व्यवस्थापनमा सुधार गरेपछि विद्यालयले नमुना विद्यालयको रूपमा पहिचान बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विद्यालय धेरै पहिले नै स्थापना भएको भए पनि यहाँका दलित समुदायका बालबालिका शिक्षाबाट वञ्चित थिए । पहिले उनीहरू नियमित रूपमा विद्यालय आउँदैनथे । तर, जब अभिभावकहरूलाई शिक्षाको महत्त्व बुझाइयो तब सबैले आफ्ना छोराछोरीलाई पढाउन थालेका छन् ।” विद्यालयको स्तर अझै उकास्न थप भौतिक तथा प्रविधि पूर्वाधार आवश्यक भएको उहाँले बताउनुभयो ।

प्रदेश सभा सदस्य रामअशिष यादवले ग्रामीण क्षेत्रमा रहेको यो विद्यालय अन्य सामुदायिक विद्यालयका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो । उहाँले प्रधानाध्यापक र विद्यालय व्यवस्थापनको इच्छाशक्तिले नै यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो ।

विद्यालयको हरियाली प्रवद्र्धन तथा भौतिक संरचना निर्माणमा आफूले निरन्तर सहयोग गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “विद्यालयले नमुना शिक्षालयको रूपमा आफूलाई स्थापित गरिसकेको छ । विद्यालयको संरचना तथा वातावरणले निजी विद्यालयलाई समेत टक्कर दिने खालको छ । अब यहाँ कक्षा १० सम्म पढाइको व्यवस्था गर्न आवश्यक छ ।” विद्यालय व्यवस्थापन, शिक्षकमण्डल तथा समुदायको सक्रिय सहभागिताले विद्यालयलाई अझ उन्नत बनाउने सकिने सभा सदस्य यादवको भनाइ छ ।