
ढल्केबर, धनुषा ।
भारतमा २५ बन्धक बसेर घर फर्किएका धनुषाको बटेश्वर गाउँपालिका–१, लक्ष्मीनिवासका ५५ वर्षीय चलितर महतोलाई घरमै गएर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ ।
सोमबार धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराज कडरियाले घरमै पुगेर महतोलाई नागरिकता प्रदान गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी कडरियाले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्दै भन्नुभयो, “राज्यको प्राथमिक दायित्व आफ्ना नागरिकलाई पहिचान प्रदान गर्नु हो । महतोको नागरिकताको समस्या समाधान गर्न पाउँदा हामी खुशी छौ ं।”
साविक बटेश्वर गाउँपालिका–१ लक्ष्मीनिवास सोनापुर निवासी महतो २५ वर्षअघि साथीहरुसँग पञ्जाब कमाउन जानुभएको थियो । त्यसपछि उहाँ सम्पर्कविहीन भएपछि परिवारले उहाँकोे मृत्यु भएको ठानेर हिन्दु परम्परा अनुसार तीन पटक किरियाकर्म गर्ने तयारी गर्नुभएको थियो ।
गत कात्तिक १९ गते अचानक घर फर्कनुभएका महतोले आफूलाई पञ्जाबका एक साहुले बन्धक बनाएर श्रम गराएको खुलाउनु भयो । उहाँका साहुले बेपत्ता बनाएर आफ्नै पशुपालनको काममा जबरजस्ती श्रम गराएका थिए ।
चलितर महतोले घर फर्किएपछि नागरिकताको समस्या समाधान गरिदिएकोमा प्रशासन र स्थानीय सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँको घरमा श्रीमती र तीन जना छोराछोरी छन् ।