
ढल्केबर, धनुषा
शहिदनगर नगरपालिका–३,यदुकूहास्थित जनता एकाई उच्च माध्यमिक विद्यालयमा “हेल्दी स्कुल“ कार्यक्रमको आयोजना गरिएको छ । मानव जीवनको प्रमुख आधार स्तम्भ शिक्षा सुधार गर्ने उद्देश्यले सञ्चालित स्वस्थ विद्यालय अभियान “हेल्दी स्कुल“ अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. २ का केही ग्रामीण भेगका सामुदायिक विद्यालयमा उक्त कार्यक्रम थालिएको हो ।
जनता समाजवादी पार्टी नेपालका नेता तथा मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवको परिकल्पनामा थालिएको “हेल्दी स्कुल“ कार्यक्रम अन्तर्गत शहिदनगर नगरपालिकाको यदुकुहा गाउँमा अवस्थित जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि पनि उपलब्ध गराइएको छ ।
कार्यक्रम मधेश प्रदेश नीति आयोगका पूर्व उपाध्यक्ष तथा शिक्षा क्षेत्रका धरोहर प्रा. डा. भोगेन्द्र झाको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । उक्त “हेल्दी स्कुल“ कार्यक्रममा संयोजक डा. निरञ्जन कुमार गोईत, डा. दिपेन्द्र यादव, डा. एम. के. ठाकुर, डा. ललिता यादव, डा. कृष्णा पाल महतो लगायतका चिकित्सकहरूको टोलीले बालबालिकाहरूको स्वास्थ्य परीक्षण गरेको विद्यालयका प्रधानाध्यापक प्रदीप साहले जानकारी दिएका छन् ।
स्वास्थ्य परीक्षणका क्रममा केही बालबालिकाको दाँत, आँखा तथा कानमा सामान्य समस्या देखिएको चिकित्सकहरूले जनाएका छन् । संयोजक डा. निरञ्जन कुमार गोईतका अनुसार विद्यालयमा अध्ययनरत बालबालिकाहरूको मानसिक तथा शारीरिक स्वास्थ्य सुधार गर्न, सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुदृढ पार्न तथा विद्यालयको भौतिक पूर्वाधार विकास, शिक्षक प्रोत्साहन, प्रशिक्षण तथा प्रविधि मैत्री अध्ययन प्रणाली लागू गर्न “हेल्दी स्कुल“ अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षा प्रेमी नागेन्द्र मण्डलले सहभागी चिकित्सकहरू सहित अतिथिहरूलाई सम्मान गरेका थिए । यस अवसरमा प्रा. डा. भोगेन्द्र झाले शिक्षाको महत्त्वलाई उच्च प्राथमिकता दिँदै विद्यालयका व्यवस्थापन तथा अध्ययनरत बालबालिकाको हितका लागि ५० थान महत्त्वपूर्ण पुस्तकहरू विद्यालयलाई सहयोग गरेका छन् ।
“हेल्दी स्कुल“ अभियानको निरन्तरता तथा प्रभावकारिता सुनिश्चित गर्न आगामी दिनहरूमा अन्य सामुदायिक विद्यालयहरूमा पनि कार्यक्रम सञ्चालन गरिने संयोजक डा. निरञ्जन कुमार गोईतले जानकारी दिएका छन् ।