धनुषामा माझी समुदायद्वारा जातीय पहिचानका लागि सांस्कृतिक कार्यक्रम

|

ढल्केबर, धनुषा ।
धनुषाको लालगढमा माझी समुदायले आफ्नो महान चाड कोशी (लदी) पूजाको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । शनिबार नेपाल माझी उत्थान संघ लालगढ माझी समाजको आयोजनामा सम्पन्न यस कार्यक्रममा माझी समुदायको ऐतिहासिक र सांस्कृतिक पक्ष झल्किने विविध प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा माझी जातिको मौलिकता झल्किने सांस्कृतिक नृत्य तथा झाँकी प्रदर्शन गरिएको हो । नेपाल माझी उत्थान संघका पदाधिकारी, माझी समुदायका अग्रज तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा माझी समुदायको पहिचान, संस्कृति तथा परम्परालाई जोगाइराख्न विशेष जोड दिइएको थियो ।

कार्यक्रममा मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुक भएकाले यस्ता कार्यक्रमले समाजमा सद्भाव, सहिष्णुता, एकता तथा एकअर्काप्रतिको सम्मानमा वृद्धि गर्ने बताइन् । उनले माझी समुदायको परम्परागत मुख्य पेशा माछा मार्ने भए पनि बदलिँदो समयअनुसार शिक्षा आर्जनमा ध्यान दिन आवश्यक रहेको सुझाव दिइन् ।

नेपाल माझी उत्थान सङ्घ धनुषाका अध्यक्ष ललित माझीले माझी समुदायको पहिचान, संस्कृति तथा परम्परालाई जोगाइराख्न यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले स्थानीय, प्रदेश तथा सङघीय सरकारले विशेष नीति तथा कार्यक्रम ल्याएर सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रम गर्नुअघि माझी समुदायले जातीय पहिचानका लागि सडक प्रदर्शन गरेका थिए । माझी टोलबाट जातीय पहिचान झल्किने परम्परागत पहिरनमा बाजागाजासहित झाँकी प्रदर्शन गरिएको थियो । माझी समुदायको संस्कृति र रीतिरिवाजलाई उजागर गर्न यो कार्यक्रम गरिएको स्थानीय ईश्वर माझीले बताए ।

आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर योञ्जनले माझी समुदाय नेपालको आदिवासी जनजाति मध्ये एक भएको बताए । ”परम्परागत रूपमा माझीहरू माछा मार्ने, डुङ्गा चलाउने तथा नदी किनारका क्षेत्रमा कृषि गर्ने पेशामा संलग्न रहँदै आएका छन् । नेपालको मुख्यतः तराई, पहाड तथा नदी किनारका क्षेत्रमा माझीहरूको बसोबास पाइन्छ । माझी समुदायको भाषा, भेषभूषा, लोकसंस्कृति तथा परम्परा विशिष्ट छ, उहाँले भन्नुभयो ।

समकालीन समयमा माझी समुदायका युवा पुस्ता शिक्षातर्फ आकर्षित भएसँगै वैकल्पिक पेशा अपनाउने क्रम बढ्दै गएको छ । यद्यपि, आर्थिक अवस्था कमजोर भएकाले माझी समुदायलाई राज्यस्तरबाट विशेष सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले शिक्षा आर्जनमा विशेष जोड दिन आग्रह गरे ।