नेपाल तामाङ संघ धनुषाको अधिवेशन सम्पन्न, सुरेश लामा अध्यक्ष चयन

|

ढल्केबर, धनुषा ।
धनुषाको लालगढमा शनिबार सम्पन्न नेपाल तामाङ संघको पहिलो जिल्ला अधिवेशनबाट सुरेश लामा अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका छन् ।अधिवेशनले अध्यक्ष सुरेश लामा सहित सचिव श्यामा गोलेसहित ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

कार्यक्रमको उद्घाटनका क्रममा प्रमुख अतिथि नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले तामाङ समुदायको ऐतिहासिक र सांस्कृतिक योगदानको प्रशंसा गर्दै नेपाल तामाङ संघको भूमिका महत्वपूर्ण रहेको बताए । उनले तामाङ समुदायका अधिकार र उत्थानका लागि अझ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।

विशिष्ट अतिथिको रूपमा तामाङ संघका केन्द्रीय सभापति रामकृष्ण लामा तथा नेपाली कांग्रेस धनुषाका कोषाध्यक्ष राजलाल महतो उपस्थित रहेको थियो । उनीहरूले पनि तामाङ समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासका लागि नेपाल तामाङ संघको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे ।

नवनिर्वाचित अध्यक्ष सुरेश लामाले आफ्नो कार्यकालमा तामाङ समुदायको हकहित र उत्थानका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए । कार्यक्रममा उपस्थित अतिथिहरूले संघको आगामी योजनाबारे चर्चा गर्दै तामाङ समुदायको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको समापनमा नवनिर्वाचित अध्यक्ष लामाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै जिम्मेवारी पुरा गर्ने बताए ।