
ढल्केबर, धनुषा ।
डिभिजन वन कार्यालय धनुषाले वन डढेलो नियन्त्रण गर्न पूर्व तयारी अन्तर्गत मंगलबार स्थलगत नमुना अभ्यास गरेको छ । जिल्लाको मिथिला नगरपालिका–१०, लालगढस्थित धनेश्वरी सामुदायिक वनमा नमूना अभ्यास गरेको हो ।
वन डढेलो लागेमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारे जानकारी दिने उद्देश्यले धनेश्वरी सामुदायिक वन उपभोक्ता समितिसँगको समन्वयमा वन डढेलो नियन्त्रणको अभ्याससँगै सचनेता ¥यालीको आयोजना गरिएको डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख विनोद सिंहले बताउनुभयो । उहाँले वन डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक अभियानअन्तर्गत यो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
वन डढेलो नियन्त्रण हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्ने बताउँदै डिभिजनल प्रमुख सिंहले वन डढेलो लागेको देखिएमा आगो निभाउने कार्यमा जुट्न र वन कार्यालय तथा नजिकको तथा प्रहरीमा खबर गरी जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो ।
वन डढेलोले तापक्रम बढाउने, चराचुरुङ्गी तथा वन्यजन्तुलगायत रुखबिरुवा जलेर नष्ट हुने हुँदा वनमा जानीजानी डढेलो लगाउने कार्यलाई गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ । वनजङ्गलमा डढेलो लगाउनेलाई कानूनी कारवाही हुने भएकाले त्यसबारेमा सर्वसाधारणलाई सचेत गराउन जरुरी छ, उहाँले भन्नुभयो ।
वन डढेलो लागेको बेला पातपतिङ्गर सरसफाइदेखि अपनाउनपर्ने विधिको बारेमा अभ्यास गरिएको लालगढ सव डिभिजन वन कार्यालयका अधिकृत रामअशिषक यादवले बताउनुभयो ।
मिथिला नगरपालिका–१०, लालगढका वडाध्यक्ष सविन बिक्रम थापाले वन डढेलो नियन्त्रण गर्न वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले यसका लागि उपभोक्ता समूह, सामुदायिक वन महासङ्घ र स्थानीयवासीको महत्वपूर्ण भूमिका आवश्यक भएको बताउनुभयो ।