
ढल्केबर, धनुषा ।
डिभिजन वन कार्यालय धनुषाले बिहीबार जिल्लाका दुई वटा सामुदायिक वनमा वन डढेलो रोकथामका लागि नमूना अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । मिथिला नगरपालिका–४, पुष्पवलपरस्थित भाटीघारी सामुदायिक वन र धनुषाधाम नगरपालिका–६, मालटोलस्थित सामुदायिक वनमा पूर्व तयारीस्वरूप नमूना अभ्यास गरिएको हो ।
सव डिभिजन वन कार्यालय लालगढका वन अधिकृत रामअशिष यादवका अनुसार वन डढेलो लागेमा कसरी नियन्त्रण गर्ने भन्नेबारे जानकारी दिने उद्देश्यले सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर वन डढेलो नियन्त्रणको अभ्यास र सचेतना कार्यक्रम आयोजना गरिएको हो। उनले वन डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक अभियानअन्तर्गत यो कार्यक्रम गरिएको जानकारी दिए ।
वन अधिकृत यादवले वन डढेलो नियन्त्रण सबैको साझा चुनौती भएकाले यसलाई रोकथाम गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनले वन डढेलो देखिएमा तत्काल नियन्त्रणका लागि जुट्न, वन कार्यालय तथा प्रहरीलाई खबर गर्न र जिम्मेवार नागरिकको कर्तव्य पूरा गर्न आग्रह गरे ।
सव डिभिजन वन कार्यालय पुष्पवलपुरका वन अधिकृत रामसुन्दर साहले डढेलो लागेको बेला पातपतिङ्गर सरसफाइदेखि अपनाउनुपर्ने विधिहरूको अभ्यास गराइएको जानकारी दिए। वन डढेलो नियन्त्रणका लागि वन कार्यालय मात्र सक्षम नभएकाले उपभोक्ता समूह, सामुदायिक वन महासङ्घ र स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए ।
वन डढेलोका कारण चराचुरुङ्गी, वन्यजन्तु तथा रुखबिरुवा नष्ट हुने भएकाले जानीजानी डढेलो लगाउनु गम्भीर अपराध मानिने र फौजदारी कसुरअन्तर्गत कानूनी कारबाही हुने चेतावनी दिइएको छ ।
गर्मी मौसममा आगलागीको जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउनुपर्ने कार्यालयले अनुरोध गरेको छ । वन डढेलो नियन्त्रण गर्न फारलाइन सफा गर्ने, पातपतिङ्गर जम्मा गरेर जलाउने, मानिसको नियन्त्रणमा राखेर अनावश्यक वस्तु जलाउने उपायहरू अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ ।
नमुना अभ्यासमा वन कार्यालयका कर्मचारी, सामुदायिक वनका पदाधिकारी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो ।