
विजयकुमार साह
ढल्केबर, धनुषा ।
धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजकी ४८ वर्षीया बिनादेवि महराले मोतियाबिन्दुको शल्यक्रियापछि दृष्टि पुनः प्राप्त गर्नुभएको छ । लामो समयदेखि आँखाको समस्याले ग्रस्त उहाँले निःशुल्क शल्यक्रियापछि दृष्टि पुनः प्राप्त गर्नुभएको हो ।
उहाँले आँखाको समस्याले सामान्य दिनचर्यादेखि खेतिपातीका काम गर्न समेत कठिनाइ भोग्नुपरेको बताउनुभयो । महराले भन्नुभयो, “बिगत केही वर्षदेखि दृष्टि धमिलो हुँदै गयो । उपचार गराउने सोच त थियो तर आर्थिक अवस्था कमजोर भएकाले सम्भव भएन । तर, रेयुकाई एईको मासुनागा आँखा अस्पतालले निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिदिएपछि मेरो जीवनमा नयाँ ज्योति फर्किएको छ।”
ढल्केबरमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरेपछि महरासहित यहाँका थुप्रै आँखाका बिरामी लाभान्वित भएका छन् । विशेष गरी आर्थिक रूपले कमजोर तथा वृद्धवृद्धाका लागि यो कार्यक्रमले धेरैको ज्योति फर्काएको छ । अस्पतालले विपन्न वर्गका बिरामीलाई लक्षित गरी मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । तेज कोहली एन्ड रुइत फाउन्डेसनको सहयोगमा यो सेवा सञ्चालन गरिँदै आएको अस्पताल प्रशासन जानकारी दिएको छ ।
अस्पतालका महासचिव हिरामणि शर्माले विपन्न वर्गलाई लक्षित गरी मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिँदै आएको बताउनुभयो । उहाँले पछिल्लो नौ महिनामा ९१४ जना बिरामीको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको बताउँदै रुइत फाउन्डेसनअन्तर्गत करिब पाँच सय मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।
महासचिव शर्माले भन्नुभयो, “यस सेवाका कारण विशेष गरी वृद्धवृद्धा, श्रमिक वर्ग तथा आर्थिक रूपले विपन्न परिवारका सदस्यले लाभ लिइरहेका छन् । दृष्टि गुमाइसकेका तथा कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेका नागरिकका लागि यो अभियान ज्योति प्रदान गर्ने स्रोत बनेको छ ।” यसले विशेष गरी ग्रामीण भेगका नागरिकहरूलाई गुणस्तरीय र सुलभ नेत्र उपचारको अवसर प्रदान गरिरहेको महासचिव शर्माको भनाइ छ ।
उहाँका अनुसार यो कार्यक्रमले विशेष गरी आर्थिक रूपमा कमजोर बिरामीका लागि ठूलो राहत पुगेको छ । आँखाको दृष्टि गुमाएर कष्टपूर्ण जीवन बिताइरहेका बिरामीका लागि निःशुल्क शल्यक्रियाले पुनः नयाँ जीवन दिएको छ ।
तीन वर्ष अघि सञ्चालनमा आएको यो अस्ताललमा धनुषा, महोत्तरी र सिरहालगायत भारतीय सीमा क्षेत्रका आँखा बरामीले आसहज सुविधा पाएका छन् । विशेष गरी वृद्धवृद्धा, श्रमिक वर्ग र आर्थिक रूपमा कमजोर समुदायका सदस्यलाई अस्पतालले प्राथमिकताका साथ सेवा दिइरहेको अस्पतालका इन्चार्ज प्रदिप सिंहले बताउनुभयो ।
उहाँले यस अस्पतालमा मोतियाबिन्दु बाहेक आँखाको सम्पूर्ण उपचार हुने गरेको बताउँदै आँखाको सामान्य जाँच, चश्मा वितरण, र नेत्र स्वास्थ्यसम्बन्धी परामर्श सेवा समेत यहाँ निःशुल्क वा न्यून शुल्कमा उपलब्ध गराउने गरेको जानकारी दिनुभयो । अस्पतालले आँखासम्बन्धी जनचेतना फैलाउन विभिन्न गाउँ तथा टोलहरूमा निशुल्क आँखा शिविरसमेत सञ्चालन गर्ने गरिएको सिंहको भनाइ छ ।
शल्यक्रिया गराएका बिरामी तथा स्थानीय बासिन्दाले अस्पतालको यो सेवाको प्रशंसा गरेका छन् । ढल्केबरका सरोज सिंहले पहिला आँखाको उपचार महँगो हुने भएकाले धेरै विपन्न वर्गका मानिस दृष्टि गुमाएर जीवन बिताउन बाध्य हुने गरेको बताउनुभयो । अहिले यो सेवाले गाउँका धेरैलाई लाभ पुगेको उहाँका भनाइ छ ।