ढल्केबरमा उद्योग बाणिज्य संघ भवन निर्माण गर्न भागवत सप्ताह लगाइँदै

|

ढल्केबर, धनुषा
धनुषाको ढल्केवरमा मिथिला उद्योग वाणिज्य संघको भवन निर्माणका लागि भव्य संगीतमय श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञ आयोजना गरिने भएको छ ।

संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक तेजनारायण साहका अनुसार आगामी चैत्र १७ देखि चैत्र २३ गतेसम्म ढल्केवरस्थित खानेपानीको प्राङ्गणमा उक्त धार्मिक अनुष्ठान हुनेछ ।

यस सप्ताहको प्रमुख कथा वाचक श्री कृष्ण प्रणामी मन्दिर केन्द्रीय नवतन्धामका महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराज जी रहनेछन् । आयोजकका अनुसार उनको वचनामृतबाट धर्म, भक्ति, कर्म, र ज्ञान सम्बन्धी गहन सन्देश प्रवाह गरिनेछ ।

भागवत सप्ताह अवधिभर भजन–कीर्तन, प्रवचन, तथा आध्यात्मिक कार्यक्रमहरू हुनेछन् । प्रचारप्रसार उपसमितिका संयोजक गणेश महतोका अनुसार यस आयोजनाले समाजमा आध्यात्मिक चेतनाको जागरण ल्याउने विश्वास गरिएको छ ।

मिथिला उद्योग बाणिज्य संघले बहुउपयोगी भवन निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएकोे यस कार्यक्रममा स्थानीय तथा बाह्य क्षेत्रका भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ । आयोजक समितिले सबै श्रद्धालु भक्तजनलाई सहभागी भई धार्मिक लाभ लिन आग्रह गरेको छ ।