वन क्षेत्रको विस्तार आवश्यक

|

ढल्केबर, धनुषा ।
वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सचिव उद्धवबहादुर घिमिरेले वन क्षेत्रको वृद्धि आवश्यक रहेको बताएका छन् । शनिबार धनुषाको लालगढमा डिभिजन वन कार्यालय धनुषाको आयोजनामा ‘समृद्धिका लागि वन कार्यक्रम’ अन्तर्गत डिभिजन, सवडिभिजन वन कार्यालय र स्थानीय तहबीच अन्तरक्रिया तथा समन्वय गोष्ठीमा उनले सम्पूर्ण प्राणी र साझा वासस्थान पृथ्वीको समेत रक्षा हुने हुँदा वन क्षेत्रको विस्तार आवश्यक भएको उल्लेख गरे ।

सचिव घिमिरेका अनुसार मधेश प्रदेशका २५ वटा पालिकामा ‘समृद्धिका लागि वन कार्यक्रम’ सञ्चालनमा रहेको छ जसमा धनुषाको मिथिला बिहारी, लक्ष्मिनियाँलगायत तीन वटा पालिका समावेश छन् । उनले मातहतका निकायलाई युद्धस्तरमा काम गर्न निर्देशन दिँदै भने, ‘खटिएका कर्मचारीले इमानदारीपूर्वक समयमै प्रभावकारी काम गरे मात्र कार्यक्रम सफल हुनेछ । हाम्रो कार्य दक्षता, इमानदारिता र प्रतिबद्धता अनुसार काम गर्न जरुरी छ । यो परियोजना मधेश प्रदेशको प्रतिष्ठासँग जोडिएको विषय हो ।’

चार वर्षमा सम्पन्न गर्नुपर्ने परियोजना हाल तेस्रो वर्षमा चलिरहेको हुँदा अब एक वर्ष मात्र बाँकी रहेको र त्यसैले कामको गति तीव्र पार्नुपर्नेमा सचिव घिमिरेले जोड दिए । कार्यक्रम कार्यान्वयनका क्रममा उत्पन्न हुनसक्ने समस्याहरू समाधान गर्न वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश सधैं सहयोग गर्न तत्पर रहेको उनले स्पष्ट गरे ।

समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत सार्वजनिक तथा ऐलानी जग्गामा लगाइने वनको उचित व्यवस्थापन तथा उपभोक्ता समितिहरूको रेखदेख गर्न विपन्न तथा दलित समुदायलाई प्राथमिकतामा राख्ने योजना रहेको पनि उनले भने

डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले वन संरक्षण तथा खाली रहेका जमिनमा वृक्षारोपण गर्न स्थानीय तह तथा सञ्चार क्षेत्रको सक्रिय सहभागिता अनिवार्य रहेको बताए । सिंहका अनुसार वन क्षेत्रको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा स्थानीय तहको प्रत्यक्ष संलग्नता आवश्यक रहेको छ जसले परियोजनाको सफल कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्नेछ ।