
ढल्केबर, धनुषा । धनुषाको ढल्केवरमा बहुउपयोगी भवन निर्माणका लागि सप्ताहव्यापी श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ सुरु भएको छ । मिथिला उद्योग बाणिज्य सङ्घको आयोजनामा सप्ताह ज्ञान यज्ञ आइतबारबाट सुरु भएको छ । उक्त धार्मिक अनुष्ठान चैत्र १७ देखि चैत्र २३ गतेसम्म ढल्केवरस्थित खानेपानीको प्राङ्गणमा सञ्चालन हुनेछ ।
मिथिला उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक तेजनारायण साहले सङ्घको कार्यालयसहितको बहुउपयोगी भवन निर्माणका लागि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार मिथिला नगरपालिकाले भवन निर्माणका लागि ढल्केबरमा तीन कठ्ठा जमिन उपलब्ध गराएको छ । नगरपालिकाकै सात लाख रुपैयाँको लागतमा पर्खाल निर्माण गरी क्षेत्र घेराबेरा गरिएको छ । प्रस्तावित भवन निर्माण भएपछि उद्योग वाणिज्य सङ्घको कार्यालय, गोष्ठी, विवाह, ब्रतबन्धजस्ता विविध कार्यका लागि उपयोग गरिने उहाँले जानकारी दिनुभयो ।
साहका अनुसार यस धार्मिक कार्यक्रमबाट सङ्कलित सहयोग, स्थानीय, प्रदेश, सङ्घीय सरकार तथा उद्योगी व्यापारीहरूको सहकार्यमा भवन निर्माण सम्पन्न गरिनेछ । प्रचारप्रसार उपसमितिका संयोजक गणेश महतोले धार्मिक अनुष्ठानका प्रमुख कथा वाचकका रूपमा श्रीकृष्ण प्रणामी मन्दिर केन्द्रीय नवतन्धामका महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराज रहेको बताउनुभयो । उहाँका अनुसार उनको प्रवचनमार्फत धर्म, भक्ति, कर्म र ज्ञान सम्बन्धी गहन सन्देश प्रवाह गरिनेछ । सप्ताह अवधिभर भजन–कीर्तन, प्रवचन तथा विभिन्न आध्यात्मिक कार्यक्रमहरू आयोजना गरिनेछन् । यस धार्मिक अनुष्ठानले समाजमा आध्यात्मिक चेतनाको जागरण ल्याउने विश्वास गरिएको उहाँले जानकारी दिनुभयो ।
यस सप्ताह ज्ञानयज्ञमा स्थानीय तथा बाह्य क्षेत्रका भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ । आयोजक समितिले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहभागी भई धार्मिक लाभ लिन आग्रह गरेको छ ।