पक्राउ परेका नेताहरुको रिहाइको माग गर्दै ढल्केबरमा राप्रपाको प्रदर्शन

|

ढल्केबर, धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना नेता तथा कार्यकर्ताहरूको रिहाइको माग गर्दै धनुषाको ढल्केबरमा विरोध प्रदर्शन गरेको छ । उनीहरूलाई झूटा मुद्दामा पक्राउ गरिएको भन्दै रिहाइको माग गरिएको हो ।

प्रदर्शनमा सहभागीहरूले पक्राउ परेका नेताहरूको तत्काल रिहाइ, शुक्रबारको घटनाका मृतकलाई शहीद घोषणा, तथा घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले सरकारका मन्त्रीहरूको राजीनामा दिनुपर्ने मागसमेत गरिएको छ ।

शुक्रबारको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि उक्साएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणा लगायतका नेताहरू पक्राउ परेका छन् ।

ढल्केबरमा आयोजित विरोध प्रदर्शनका क्रममा राप्रपाका कार्यकर्ताहरूले नाराबाजी गर्दै चोकको परिक्रमा गरेका थिए। प्रदर्शनको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीका मिथिला नगर अध्यक्ष पदनबहादुर मोक्तानले गरेका थिए।