वन संरक्षणसम्बन्धि चेतना फैलाउन अन्तरक्रिया कार्यक्रम

|

ढल्केबर, धनुषा डिभिजन वन कार्यालय धनुषाको आयोजनामा मंगलबार मिथिला नगरपालिका–११, बाहुनमारास्थित कालिखोला सामुदायिक भवनमा वन तथा वातावरण संरक्षणसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सव–डिभिजन वन कार्यालय लालगढ अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सम्बन्धित वन कर्मचारीको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले वन संरक्षणको महत्त्वमाथि प्रकाश पार्दै सामुदायिक सहभागिता बिना दीर्घकालीन संरक्षण सम्भव नरहेको धारणा व्यक्त गरे । उनले वातावरणीय सन्तुलन कायम राख्न सामुदायिक वनहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेकोे बताए ।

उनले कानुनी प्रावधान, संरक्षणका चुनौतीहरू र समाधानका उपायहरूमाथि समेत चर्चा गर्दै सबैलाई दिगो वन व्यवस्थापनतर्फ प्रतिबद्ध रहन आग्रह गरे ।

कार्यक्रमले सहभागीहरूबीच वन संरक्षणसम्बन्धी विचार आदान–प्रदानका साथै नीति–कार्यन्वयनमा देखिने समस्याहरूको साझा छलफल गर्ने अवसरसमेत प्रदान गरेको थियो । कार्यक्रममा वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृति, सव डिभिजन वन कार्यालय धनुषाधामका वन अधिकृत र सव डिभिजन वन कार्यालय लालगढका वन अधिकृत रामअशिष यादवलगायत वन कर्मचारी तथा वन उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।