
ढल्केबर, धनुषा ।
नयाँ वर्ष विक्रम संवत् २०८२ को शुभारम्भ अवसरमा जनकपुरधाम–१२, हनुमाननगरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । ‘प्रकृति, संस्कृति, संरक्षण अभियान’ अन्तर्गत सोमबार बर, पाखर, भलसरी, छतिवन र शिवलिङ प्रजातिका ५ वटा बिरुवा रोपिएको हो ।
जलवायु परिवर्तनका असरप्रति जनचेतना फैलाउनु र हरित वातावरणको संरक्षण गर्नु वृक्षरोपण उद्देश्य रहेको छ । विज्ञान र प्रविधिले अत्यधिक विकास गरे पनि पानी निर्माण गर्न नसकेको सन्दर्भमा रुखहरूले एक मनसुनमा करोडौं लिटर पानी जमिनमुनि पठाउने कार्य गर्छन् भन्ने तथ्यलाई मध्यनजर राख्दै वृक्षरोपणलाई प्राथमिकता दिइएको हो ।
वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत सुरेश शर्माले भने, “वन संरक्षण र वातावरण सन्तुलन कायम राख्न वृक्षरोपण अत्यन्तै आवश्यक छ । आजको अभियानले भविष्यमा सकारात्मक सन्देश दिनेछ । हामी सबै मिलेर वातावरण संरक्षणमा जुट्न जरुरी छ । स्थानीय स्तरबाट सुरु भएको यस्तो प्रयासले प्रदेशस्तरमै उदाहरणीय काम गर्न प्रेरणा दिन सक्छ ।”
“वर्ष त हरेक वर्ष बदलिन्छ, तर समग्र रुपान्तरण सोचबाटै सुरु हुन्छ । नयाँ वर्ष २०८२ हाम्रो सोचमा सकारात्मक परिवर्तन ल्याओस्,” भन्दै सहभागीहरूले माता जानकीसँग प्रार्थना गरेका थिए ।
कार्यक्रममा सिंगल युज प्लास्टिकको प्रयोग नगर्न, अनावश्यक पानीको दुरुपयोग नगर्न र वृक्षरोपणमार्फत वातावरणीय सन्तुलन कायम गर्न सबैलाई अभिप्रेरित गरिएको थियो ।
कार्यक्रममा स्थानीय युवाहरू सानुभाई श्रेष्ठ, डिएफओ विनोद सिंह, प्रेम महतो, नागेश्वर यादव, हिरालाल शर्मा, सुभाष शर्मा लगायत हनुमान मन्दिरका पुजारीलगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।