जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. डबलबहादुर धामीलाई नियुक्त गरिएको छ ।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठककोे निर्णयअनुसार डा. धामीलाई उपकुलपतिको जिम्मेवारी दिइएको हो । उपकुलपति पद रिक्त रहेको अवस्थामा प्रतिष्ठानका शैक्षिक प्रशासनिक तथा आर्थिक कार्यहरूलाई निरन्तरता दिने उद्देश्यले उहाँलाई यो जिम्मेवारी दिइएको प्रतिष्ठानले जनाएको छ ।
डा. धामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै रेक्टर तथा सह–प्राध्यापकको रूपमा कार्यरतसमेत हुनुहुन्छ । उहाँको लामो अनुभव तथा प्रतिष्ठानप्रतिको योगदानलाई मूल्याङ्कन गर्दै उक्त पदका लागि योग्य ठहर गरिएको बताइएको छ ।

