‘देशको सच्चा पहरेदार राप्रपा नै हो’ : मनोज मल्ल ठकुरी

|

धनुषाधाम । धनुषा–१ मा चुनावी अभियानलाई तीव्र बनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज मल्ल ठकुरीले राप्रपाले नै देशको वास्तविक हित र राष्ट्रको रक्षा गर्न सक्ने दाबी गर्नुभएको छ । चुनावी सभालाई सम्बोधन गर्दै उहाँले ‘देशको सच्चा पहरेदार राप्रपा नै हो’ भन्ने धारणा सार्वजनिक गर्नुभएको हो ।

उहाँले विगतका राजनीतिक परिवर्तनपछि पनि जनताले अपेक्षित सुशासन र विकास नपाएको उल्लेख गर्दै वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ‘जनताले पटकपटक अवसर दिए, तर परिणाम के आयो ? भ्रष्टाचार, दलाली र व्यक्तिगत स्वार्थ मात्रै बढ्यो,’ उहाँले भन्नुभयो, ‘अब देशलाई साँचो पहरेदार चाहिएको छ, र त्यो भूमिका राप्रपाले मात्र निर्वाह गर्न सक्छ।’

ठकुरीले राष्ट्रियता, धर्म–संस्कृति र परम्परागत मूल्यको संरक्षणलाई राप्रपाको मूल एजेन्डा रहेको बताउनुभयो । उहाँका अनुसार देशको सार्वभौमिकता, सीमा सुरक्षा र सामाजिक सद्भाव जोगाउन बलियो र स्पष्ट दृष्टिकोण भएको शक्ति आवश्यक छ। ‘राष्ट्र कमजोर भयो भने राजनीति पनि कमजोर हुन्छ,’ उहाँले थप्नुभयो, ‘त्यसैले राप्रपाले राष्ट्रलाई केन्द्रमा राखेर राजनीति गर्छ।’

उहाँले जनतासँग प्रत्यक्ष भेटघाट र घरदैलो अभियानलाई प्राथमिकता दिँदै मतदातासँग विश्वासको सम्बन्ध बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । ठकुरीले धनुषा–१ का मतदातालाई यसपटक परिवर्तनका लागि निर्णय लिन आग्रह गर्नुभयो ।