ढल्केबर, धनुषा । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–६, मालटोलमा जुवा खेलिरहेको अवस्थामा तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ उनीहरूलाई खुवा खाल क्षेत्रबाट रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूमा सोही ठाउँका राधे सहनी, काजी बल र प्रदीप दास रहेका छन् । प्रहरीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नगद र जुवाको सामग्रीसहित नियन्त्रणमा लिएको जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार मालटोल क्षेत्र विगत केही समयदेखि जुवाडेहरूको अखडा बनेको छ । उनीहरूले जुवाको अवैध धन्दा चलाउँदै गाउँको शान्ति सुरक्षा तथा सामाजिक वातावरणमा नकारात्मक असर पु¥याएको आरोप लगाएका छन् ।
“हामीले यसअघि पनि प्रहरी प्रशासनमा गुनासो गरेका थियौं, तर खासै सुनुवाइ भएको थिएन । अहिले जुवा खेल्दाखेल्दै पक्राउ परेकाले कम्तीमा अब त कडा कारबाही होस्,“ एक स्थानीय बासिन्दाले भने ।
स्थानीयहरूले पक्राउ परेकाहरूमाथि कडा कारबाही गर्दै यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूलाई समेत निगरानी गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ र कानून अनुसारको कारबाही प्रक्रिया अघि बढाइएको छ ।

