धनुषा, देवडिहा – नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा “धर्म, अध्यात्म र राष्ट्र” विषयमा केन्द्रित एक विशेष विचार गोष्ठी सोमबार देवडिहामा सम्पन्न भएको छ। सो कार्यक्रममा पुरी शंकराचार्यजीका कृपापात्र शिष्य तथा वरिष्ठ अधिवक्ता प्रेमचन्द्र झाको विशेष उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो।
गोष्ठीको अध्यक्षता गर्दै देवचन्द्र झाले भगवान शंकराचार्यजीलाई यथासिघ्र देवडिहा पधार्न औपचारिक निमन्त्रणा पत्र सार्वजनिक रूपमा अर्पण गर्नुभएको थियो। उहाँले देवडिहावासीहरूको धार्मिक भावना र उत्सुकता व्यक्त गर्दै, शंकराचार्यको आगमनले धार्मिक चेतना र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि प्रेमचन्द्र झाले धर्म, अध्यात्म र राष्ट्रबोधबीचको सम्बन्धमाथि गहिरो विश्लेषण गर्दै शंकराचार्यको शिक्षाले समाजमा आध्यात्मिक शुद्धि र सांस्कृतिक एकता ल्याउने उल्लेख गर्नुभयो।
विशेष अतिथिका रूपमा नेपाल भारत खुला सिमा संवाद समूहका अध्यक्ष राजीव झाले खुला सिमाको संवेदनशील पक्ष र सांस्कृतिक लाभहरूबारे धारणा राख्दै, यस्ता कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने बताए।
कार्यक्रममा वरिष्ठ चिकित्सक डा. आर.एन. झा, बुद्धिजीवी राजकुमार झा, मना जी, इन्द्रेश झा, सुदीप महतो, ईश्वर कापर, शुभास झालगायत समाजका विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार गोष्ठीले देवडिहालाई धार्मिक तथा सांस्कृतिक गन्तव्यको रूपमा विकास गर्न प्रेरणा दिएको छ। शंकराचार्यजीको सम्भावित आगमनले यस अभियानलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।

