महेन्द्रनगर, धनुषा । धनुषाको छिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले मनोमानी ढंगले नगरपालिका सञ्चालन गरेको आरोप उपप्रमुख रचना श्रेष्ठ माथेमाले लगाएकी छन्। शनिबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले नगर प्रमुखले विकास कार्यमा एकलौटी व्यवहार गर्दै स्थानीय शासन प्रणालीको अपमान गरेको आरोप लगाइन्।
उपप्रमुख श्रेष्ठले भनिन्, “अब चालू आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी छ, तर अहिलेसम्म विकास योजना अगाडि बढ्न सकेको छैन। उपभोक्ता समिति गठनदेखि कर्मचारी व्यवस्थासम्म नगर प्रमुखले एकलौटी ढंगले काम गर्दै आएका छन्।”
उनका अनुसार योजना सञ्चालन गर्नुपूर्व उपभोक्ता समिति गठन गरिनुपर्ने संवैधानिक प्रक्रिया बेवास्ता गर्दै नगर प्रमुखले आफ्ना निकटका व्यक्तिहरूलाई मात्र समितिमा राख्ने गरेका छन् । “योजना जुन टोलको हो, त्यहीँका वासिन्दालाई समेटेर समिति बनाउनु पर्ने हो, तर उहाँले एउटै वडामा १५–२० वटा योजना लिएर एउटै ठाउँमा भेला गरेर मनोमानी गर्दै आउनुभएको छ,” श्रेष्ठले भनिन्।
उपप्रमुखले स्थानीय सरकारको न्यायिक समिति सञ्चालनमा पनि बाधा पुगेको जनाइन्। “नगर प्रमुखले दुई वर्षदेखि न्यायिक समितिमा कर्मचारी नदिँदा न्याय सम्पादनमै असर परेको छ। पटक–पटक आग्रह गर्दा पनि कर्मचारी पाइनँ,” उनले गुनासो गरिन्।
प्रमुख प्रशासकीय अधिकृत डेढ वर्षदेखि पदस्थ भए पनि समन्वय नगरी चेकमा हस्ताक्षर गर्नका लागि मात्रै कार्यालय आउने गरेका छन्। लेखा अधिकृतसमेत नगर प्रमुखकै इसारामा काम गर्ने गरेको आरोप उनले लगाइन् ।
नगरपालिकाका योजनासम्बन्धी रेडबुकसमेत वडाध्यक्ष तथा वडासचिवहरूलाई नदिइएको भन्दै श्रेष्ठले नगरपालिकाको कार्यशैलीप्रति प्रश्न उठाइन्। “उपप्रमुखलाई केवल कागजी भूमिकामा राखिएको छ, बजेट निर्माणदेखि कार्यान्वयनसम्म समावेश गरिँदैन,” उनले भनिन्।
यसैगरी, वडा नं. ४ का वडाध्यक्ष जगदिस यादवले पनि नगर प्रमुखले स्थानीय तह सञ्चालन ऐन, २०७४ विपरीत काम गरिरहेको आरोप लगाए। “तीन वर्षको कार्यकाल बित्न लाग्दा पनि नगर प्रमुख बाहुबली शैलीमा नगर चलाउँदैछन्। नगर सभाबाट पारित योजनाहरु सञ्चालनमा आएका छैनन्,” उनले भने।
नगर प्रमुख यादवबाट विकासको अवरोध भइरहेको आरोपसँगै उपप्रमुख र वडाध्यक्षले नगरवासीको ध्यानाकर्षण गराउँदै स्थानीय तहमा विधिको शासन स्थापनाका लागि नागरिक सचेतना र निगरानी आवश्यक रहेको बताएका छन्।

