ढल्केबर, धनुषा ।
धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरस्थित कृषि उपज बजारभित्र चमेना गृहको निर्माण कार्य सुरु भएको छ । सोमबार एक विशेष कार्यक्रमबीच चमेना गृहको शिलान्यास भएपछि निर्माण कार्य सुरु भएको हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, प्रदेश सभा सदस्य अञ्जना पण्डितले शिलान्यस गरेका हुन् । शिलान्यास समारोहमा बोल्दै प्रमुख अतिथि यादवले निर्माणाधीन संरचनाको नाम ‘ढल्केवर चमेना गृह’ राख्न सुझाव दिए । उनले भने, “विगतमा परिचित रहेको ढल्केवर नाम पछिल्ला दिनमा ओझेलमा पर्दै गएको छ । यसको मौलिकता जोगाउनका लागि पनि चमेना गृहको नाम ढल्केवरसँग जोड्न जरुरी छ।” उनले मिथिला नगरपालिकाको नामकरणप्रति असन्तुष्टि जनाउँदै स्थानीय पहिचान अनुरूप ढल्केवर नगरपालिका नाम राखिनुपर्ने धारणा व्यक्त गरे ।
बजार समितिका अध्यक्ष महतोका अनुसार चमेना गृह निर्माणका लागि मधेश प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । यो बजेट प्रदेश सांसद अन्जना पण्डितको पहलमा व्यवस्थापन गरिएको हो । निर्माण कार्य उपभोक्ता समितिमार्फत सञ्चालन हुने बताउँदै अध्यक्ष महतो चालू आर्थिक वर्षको निर्धारित समयमा काम सम्पन्न हुने जानकारी दिए ।
चमेना गृह निर्माणपछि कृषि बजारमा आउने किसान, व्यापारी तथा आगन्तुकहरूका लागि सुपथ मूल्यमा खाना, नास्ता र चियाको सुविधा उपलब्ध गराइनेछ । बजार क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यसहित यो योजना अघि बढाइएको अध्यक्षको भनाइ छ।
सो अवसरमा प्रदेश सांसद कुमरकान्त झा, वडाध्यक्ष नन्दकिशोर यादव, रामबहादुर स्यांग्दन, जोगी महतो, चन्द्रबहादुर बुलन लगायत स्थानीयको सहभागिता रहेको थियो । चमेना गृह निर्माणसँगै ढल्केवर कृषि बजार क्षेत्रको पूर्वाधार थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

