बर्दिवास, महोत्तरी ।
मृद्धिका लागि वन परियोजना अन्तर्गत दुई दिने ‘टिम बिल्डिङ्ग कार्यशाला’ सोमबार बर्दिबासमा सम्पन्न भएको छ। यो कार्यशाला प्रदेश परियोजना व्यवस्थापन इकाई, जनकपुरधामको आयोजनामा भएको हो।
“समृद्धिका लागि वन परियोजना” अन्तर्गत आयोजना गरिएको यस कार्यशालामा सहभागीहरुले एकआपसमा अनुभव आदान–प्रदान गर्दै परियोजना कार्यान्वयनमा देखिएका चुनौती र समाधानमाथि गहिरो छलफल गरेका थिए ।मधेश प्रदेशका २५ वटा पालिका समृद्धिका लागि वन परियोजना सञ्चालनमा छन् । कार्यशालामा ती २५ पालिकाबाट आएका प्रमुख प्रशासकीय अधिकृतहरू, परियोजना संयोजकहरू तथा वन प्राविधिकहरूको सक्रिय सहभागिता रहेको थियो ।
उनीहरूले समृद्धिका लागि वन परियोजना मार्फत स्थानीय स्तरमा देखिएको सकारात्मक प्रभाव, स्रोतसाधनको उपयोग, वन संरक्षणका प्रयास र समृद्धिको सम्भावनामाथि विचार आदान–प्रदान गरेका थिए ।
कार्यशालाको समापन कार्यक्रममा प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवालले भनुभयो,“वन क्षेत्र समृद्धिको मेरुदण्ड हो। यो परियोजना मधेश प्रदेशमा दीर्घकालीन दिगोपनको आधार हो । आजको कार्यशालाबाट हामी सबैले एउटै उद्देश्य लिएर अगाडि बढ्नुपर्ने सन्देश बुझेका छौँ ।”
वन विशेषज्ञ सुजित झाले पारस्परिक समन्वय, विश्वास र साझा उद्देश्यले मात्र परियोजना सफल हुने बताए । उनले सबैको सहकार्यले मात्र वन क्षेत्रको रूपान्तरण सम्भव हुने धारण व्यक्त गरे । त्यसैगरी वन अनुसन्धानका प्रतिनिधि सुनिल कर्णले वन क्षेत्रको व्यवस्थापन अझ प्रभावकारी बनानुपर्ने बताए । उनले भने, “यसका लागि प्राविधिक र प्रशासनिक संयोजन अपरिहार्य छ।”
कार्यशालाको सहभागीहरूले एकआपसमा समन्वयलाई अझ बलियो बनाउने, परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि साझा कार्ययोजना बनाउने प्रतिबद्धता जनाएका थिए ।

