गोदार, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५, टरिया टोलकी २४ वर्षीया निर्मला महतो सामुहिक कुटपिटबाट घाइते भएकी छन् । निर्मलाले आफ्नै ससुरा, जेठानलगायत परिवारका सात जनाले सामूहिक रूपमा कुटपिट गरेको आरोप लगाएकी छन् ।
कुटपिटका कारण गम्भीर घाइते बनेकी निर्मला आर्थिक अभावका कारण एक सातादेखि उपचारविहीन अवस्थामा बस्न बाध्य भएकी छन् । स्थानीयका अनुसार कुटपिटबाट अचेत भएकी निर्मलालाई छिमेकीहरूले तत्काल अस्पताल पु¥याएका थिए। चिकित्सकले उनको टाउको र छातीमा गम्भीर चोट लागेको भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएका छन् । तर आर्थिक अभावका कारण उनी उपचार गराउन सकिरहेकी छैनन् ।
“डाक्टरले बाहिर गएर उपचार गराउन भनेको छ, निर्मलाले भनिन्, तर पैसा नभएकाले पीडा कम गर्ने औषधि खाएर बसिरहेकी छु ।” हाल उनी गोदारस्थित नातेदारको घरमा पीडा सहेर बसिरहेकी छन् ।
पाँच वर्षअघि उनले रामभजन महतोका जेठा छोरा आनन्द महतोसँग मागी विवाह गरेकी थिइन् । उनका अनुसार विवाहको एक वर्षपछि श्रीमान् आनन्द वैदेशिक रोजगारीका लागि कतार गए । त्यसपछि घरमा रहेका देवर सन्तोष महतोले आफूसँग विवाह गर्न दबाब दिन थाले । प्रस्ताव अस्वीकार गर्दा देवरले आत्महत्या गर्ने धम्की दिन थालेपछि जानकी मन्दिरमा गएर विवाह गरेको उनले सुनाइन् । विवाह गरेर सन्तोषले वीरगन्जमा लगेर राखेको निर्मलाले बताइन् ।
त्यसको केही दिनपछि इलाका प्रहरी कार्यालय ढल्केबरमा भएको छलफलबाट विवाहलाई मान्यता दिइएको उनले सुनाइन् । विवाहलाई मान्यता दिए पनि घर प्रवेशमा रोक लगाएपछि धनुषाको महेन्द्रनगरमा भाडाको घरमा बस्न थालेको उनको भनाइ छ । उनका अनुसार त्यसै क्रममा गर्भमा बच्चा ठहरिएपछि ‘दिदीलाई भेट्न जान्छु’ भन्दै हिँडेका श्रीमान सन्तोष सम्पर्कविहीन भए ।
उनले आफूलाई अलपत्रमा छोडेर श्रीमान वेपत्ता भएपछि सासुससुराले उल्टै छोरालाई वेपत्ता बनाएको आरोप लगाएको बताइन् । पछि खोजी गर्दा सन्तोष आफ्नै बुबासँग कतारमै रहेको खुलासा भएको निर्मलाले सुनाइन् ।
केही दिनअघि ससुरा घर आएका बेला श्रीमानको बारेमा सोध्न जाँदा ससुरा, जेठान परिवारका अन्य सदस्यले सामूहिक रूपमा कुटपिट गरेको उनले बताइन् ।
निर्मलाले न्याय तथा माग गर्दै प्रहरी चौकी पोर्ताहामा उजुरी दिएकी छन् । तर प्रहरीले अहिलेसम्म न्याय दिलाउन काम नगरेको उनको आरोप छ ।

