ढल्केबर, धनुषा । धनुषाको मिथिला नगरपालिकाले ढल्केवर चोकदेखि दुर्गा मन्दिरतर्फ जाने महेन्द्र राजमार्गको पुरानो बाटोमा अतिक्रमण गरी बनाइएका स्थायी तथा अस्थायी संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ ।
नगरपालिकाको कार्यालयबाट सार्वजनिक सूचना प्रकाशित गर्दै ढल्केबरस्थित साविकको राजमार्गको सडक पेटी खाली गर्न निर्देशन दिइएको हो । यसअघि मिति २०७९ साल असोज १४ गते नै ३५ दिने सूचना जारी गरिसकेको नगरपालिकाले हाल नगरसभाको १४औं अधिवेशनको निर्णयलाई कार्यान्वयन गर्दै पुनः १५ दिने समयसीमा तोकेको हो ।
नगरपालिकाले साविकको महेन्द्र राजमार्गको पुरानो बाटोमा अवैध रूपमा बनाइएका स्थायी वा अस्थायी भौतिक संरचनाहरू हटाई पूर्ववत् रूपमा सार्वजनिक स्थान कायम गरिने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृत अशोककुमार भण्डारीद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबैलाई तोकिएको १५ दिनभित्र सडक पेटी खाली गर्न स्पष्ट आग्रह गरिएको छ ।
सूचनामा भनिएको छ, “यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सडक पेटी खाली गर्न अनुरोध गरिन्छ । नगरपालिकाले यसअघि पनि सोही उद्देश्यले ३५ दिने सूचना जारी गरिसकेको छ ।” नगरपालिकाले उक्त क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले स्थानीय तहले गरेको निर्णयअनुसार यो कदम चाल्न लागेको जनाएको छ ।
नगरपालिकाले सडक क्षेत्रको सौन्दर्य, सुरक्षित यातायात र सार्वजनिक पहुँच सुनिश्चित गर्न यो अभियान थालेको जनाएको छ ।




