विजय साह
मिर्चैया, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका–२, चतरी टोलका युवा ध्रुव साहले ‘शिक्षा दान अभियान’ नामक शैक्षिक सामग्री वितरण कार्यक्रम सुरु गर्नुभएको छ । शैक्षिक सामग्रीको अभावमा कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले उहाँले व्यक्तिगत खर्चमा यो अभियान सञ्चालन गर्नुभएको हो ।
अभियानका सञ्चालक साहले यो अभियान सञ्चालनका लागि ६० लाख रुपियाँ छुट्टयाएको बताउनुभयो । उहाँका अनुसार यो अभियान पाँच वर्षसम्म चल्ने छ । अभियान अन्तर्गत कल्याणपुर र मिर्चैया नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा एकदेखि आठसम्मका आर्थिक अवस्था कमजोर, अनाथ तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाकलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिने उहाँले जानकारी गराउनुभयो ।
२०८२ सालदेखि २०८७ सालसम्म सञ्चालन हुने पाँच वर्षीय यस अभियानका लागि आफूले ५५ लाख रुपियाँ र पिता रामप्रसाद साहले पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्नुभएको साहले जानकारी गराउनुभयो ।
साहले भन्नुभयो, “धेरैजसो गरिब र मेहनती विद्यार्थी सानो सहयोग नपाएर पढाइबाट बञ्चित भएका छन् । मैले यो विडम्बना देखेको छु । त्यसैले आफूले यो प्रयास थालेको हुँ । शिक्षा भनेको दान हो जसले भविष्य उज्यालो बनाउँछ ।” वितरण गरिने सामग्रीमध्ये ७० प्रतिशत कल्यााणपुर नगरपालिका, २५ प्रतिशत मिर्चैया नगरपालिका र बाँकी पाँच प्रतिशत विशेष अवस्थामा वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विद्यार्थीलाई विद्यालय पोशाक, नोटबुक, लेखन सामग्री, क्यालकुलेटर, की–रिङ, स्किपिङ डोरी, व्यायाम सामग्री, खेल सामग्रीलगायत की–प्याड मोबाइल र कन्टेन्ट क्रिएटर माइक वितरण गरिनेछ ।
सञ्चालक साहले यस वर्ष पाँच हजार विद्यार्थीलाई विद्यालय पोशाक, पाँच सय थान क्यालकुलेटर, पाँच सय थान स्किपिङ डोरी, १५ हजार थान की–रिङ, १० थान की–प्याड मोबाइल, १० थान कन्टेन्ट क्रिएटर माइक, कापी, कलम, पेन्सिल, ज्योमेट्री सेटलगायत खेलकुद सामग्री वितरण गर्ने योजना रहेको बताउनुभयो ।
उहाँका अनुसार शिक्षामा समान पहुँच सुनिश्चित गर्नुका साथैं विद्यार्थीलाई डिजिटल सिकाइमा समेत अभ्यस्त गराउने उद्देश्यले मोबाइल र माइकजस्ता प्रविधिमैत्री सामग्री वितरणमा राखिएको छ । उहाँले भन्नुभयो, डिजिटल युगमा प्रविधि पनि आवश्यक छ भन्ने बुझेर मोबाइल र माइक जस्ता सामग्री समेत राखेका छौँ ।
शैक्षिक सामग्री पाउनका लागि विद्यार्थीको कम्तीमा ७५ प्रतिशत उपस्थिति हुनुपर्ने, कमजोर आर्थिक अवस्था तथा अनाथ वा अनाथालयमा बसिरहेको प्रमाण खुलेको हुनुपर्ने तथा विद्यालयका शिक्षक वा वडाध्यक्षको सिफारिसमा मात्र सामग्री वितरण हुने व्यवस्था गरिएको छ ।
साहले सञ्चालन गर्नुभएको ‘शिक्षा दान अभियान’ ले स्थानीय स्तरमा शिक्षा क्षेत्रमा नयाँ आयाम थपिने स्थानीय साँग्रिला साहले बताउनुभयो । साहको व्यक्तिगत योगदानले शैक्षिक क्षेत्रमा निकै सुधार आउने विश्वास रहेको उहाँको भनाइ छ ।

