धनुषाको मिथिला नगरपालिका–९ मा १०५ जना कांग्रेसमा प्रवेश

|

ढल्केबर, धनुषा ।
नेपाली कांग्रेसको संगठन विस्तार अभियान अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा १०५ जना कांग्रेसमा प्रवेश गरेका छन् । एमाले र माओवादी पार्टीका कार्यकर्ता पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेका कार्यकर्तालाई नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अबिर र गम्छा ओढाएर स्वागत गरे । स्वागत गर्दै यादवले जनताको विश्वास र समर्थनले कांग्रेस सशक्त बन्दै गएको बताए । “अब जनताले विकल्पको खोजी गरिरहेका छन्, त्यही कारण हाम्रो पार्टीप्रति पुनः आकर्षण बढेको छ,” सहमहामन्त्री यादवले भने, “जनताको भरोसा जित्दै कांग्रेस लोकतन्त्र, विकास र सामाजिक न्यायको बाटोमा अघि बढ्छ।”

कार्यक्रममा बोल्दै सहमहामन्त्री यादवले पार्टीमा प्रवेश गर्ने सबै कार्यकर्तालाई संगठनमा क्रियाशील भएर काम गर्न आग्रह गरे । “तपाईंहरूजस्ता सचेत, अनुभवी कार्यकर्ताको आगमनले कांग्रेस अझ सशक्त र गतिशील हुनेछ,” यादवले भने, “हामी पार्टीको झन्डामुनि एक भएर देशको विकास र सामाजिक रूपान्तरणमा लाग्नेछौं।”

कार्यक्रममा प्रदेश सांसद कुवरकान्त झा, नेत्री अन्जना पण्डित, मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो, वडाध्यक्ष रामबहादुर स्याङ्दन लगायत कांग्रेसका विभिन्न तहका नेताकार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियो । उपस्थित नेताहरुले पनि कांग्रेसप्रति बढ्दो आकर्षणले पार्टीको आगामी भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे । कार्यक्रम पार्टीका वडा सभापति उपेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।