ढल्केबर, धनुषा ।
धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरमा सोमबार ऐतिहासिक स्मृति र सम्मानको प्रतीकस्वरूप सहिद मुंगालाल महतो र मोहन महतोको शालिक अनावरण तथा स्मृति भवनको उद्घाटन गरिएको छ ।
शालिक अनावरण र स्मृति भवन उद्घाटन कार्यक्रम मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो, स्वतन्त्र नागरिक तथा समाजसेवी रामरिझन यादव लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख महेन्द्र महतोले भने, शहादत कुनै व्यक्तिको मात्र नभई जनताको अधिकार र स्वाभिमानको प्रतीक हो । सहिद मुंगालाल र मोहन महतोले २०३६ सालको किसान आन्दोलनमा प्राणको आहुति दिएर पञ्चायती निरङ्कुशताको विरुद्ध आवाज उठाएका थिए । आज उनीहरू
को योगदानलाई स्मरण गर्दै हामीले यो स्मृति भवन र शालिक निर्माण गरेका छौ ।, जुन हाम्रो पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ ।
२०३६ साल जेठ ५ गते पञ्चायती व्यवस्थाविरुद्ध चलाइएको किसान आन्दोलनका क्रममा मुंगालाल महतो र मोहन महतो ढल्केबरमै प्रहरीको गोली लागेर सहिद भएका थिए । उनीहरूलाई जनताका पक्षमा उभिएर अन्याय र शोषणविरुद्ध लड्ने साहसी नागरिकको रूपमा स्मरण गरिन्छ ।
कार्यक्रममा बोल्दै स्वतन्त्र नागरिक रामरिझन यादवले भने, सहिद मुंगालाल र मोहन महतोको बलिदानले हामीलाई अन्यायविरुद्ध लड्न प्रेरणा दिएको छ । उनीहरूको सपना– समतामूलक, न्यायपूर्ण र स्वाधीन समाज निर्माण हामीले पूरा गर्नुछ । स्मृति भवन र शालिक बनाउनु मात्र पर्याप्त होइन सहिदको आदर्शलाई व्यवहारमा उतार्नु हाम्रो दायित्व हो ।
यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, सामाजिक अभियन्ता, सहिद परिवारका सदस्य, युवा र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा सहिद परिवारलाई सम्मान प्रदान गरिएको थियो भने उपस्थित जनसमुदायले फूलमाला र दीप प्रज्वलनमार्फत शालिकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए ।


