बर्दिवास, महोत्तरी — जलवायु परिवर्तनको सन्दर्भमा कृषि क्षेत्रमा प्रविधिमार्फत अनुकूलन गर्न सकिने उपायहरूको अध्ययन र प्रयोग गर्ने उद्देश्यले बर्दिवासमा (डिएसएसएटी) मोडल सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ।
अनुदान आयोग स्तरको यो तालिम कार्यक्रम कृषि तथा वन विश्वविद्यालय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस, बर्दिवासमा सुरु भएको हो। विश्वविद्यालय अनुदान आयोग (युजिसि) नेपाल को सहयोगमा आयोजित तालिम आजबाट सुरु भई जेठ ९ गते, २०८२ सम्म सञ्चालन हुनेछ।
तालिममा कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत आर्मी इन्स्टिच्युट अफ एग्रिकल्चर साइन्सेसका संलग्न क्याम्पसहरूका प्राध्यापक, विद्यार्थी तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ।
कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा कृषि तथा वन विश्वविद्यालयका स्नातकोत्तर कार्यक्रम निर्देशक प्राध्यापक डा। सन्तोष मरहठ्ठा र त्रिभुवन विश्वविद्यालयका कार्यक्रम संयोजक प्राध्यापक डा। लाल प्रसाद अम्गाई रहेका छन्।
प्रशिक्षणका क्रममा डा। अम्गाई ले जलवायु परिवर्तनले कृषि क्षेत्रमा पार्ने सम्भावित असरहरूबारे जानकारी दिँदै किसानहरूलाई सचेत गराउन र उनीहरूका लागि व्यवहारिक सुझावहरू तयार पार्न आवश्यक रहेको बताए। डा। मरहठ्ठा ले भने (डिएसएसएटी) मोडल सञ्चालन, प्रक्रिया र आवश्यक प्रोटोकलहरू विकासमा आधारित प्रशिक्षण दिइरहेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस प्रमुख अभिषेक श्रेष्ठ ले (डिएसएसएटी) मोडललाई विद्यार्थीहरूको अनुसन्धान र अध्ययनमा प्रयोग गर्ने तथा भविष्यमा प्राध्यापकहरूलाई पनि यस्ता अनुसन्धानमा संलग्न गराउने लक्ष्य रहेको बताए।
(डिएसएसएटी) एक वैज्ञानिक प्रविधि हो, जसको माध्यमबाट जलवायु परिवर्तनका सम्भावित असरहरूको विश्लेषण गरी कृषि योजनाहरू निर्माणमा सहयोग र्पुयाउन सकिने अपेक्षा गरिएको छ।
यस तालिमले नेपालको कृषि अनुसन्धान र योजना निर्माणमा प्रविधिको प्रयोगलाई थप प्रगाढ बनाउने विश्वास आयोजकको रहेको छ।

