ढल्केबर, धनुषा ।
धनुषामा वन क्षेत्रको जमिन अतिक्रमण गरि बनाइएका घरटहरा हटाइएको छ । गणेशमान चारनाथ नगरपालिका–६, स्थित चारनाथ सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरि बनाइएका नौ वटा घरटहरा हटाइएको डिभिजन वन कार्यालय धनुषाले जनाएको छ ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजलन प्रमुख विनोद सिंहले करिब तीन हेक्टरभन्दा बढी वन क्षेत्रको जमिन अतिक्रमण गरि निर्माण गरिएका नौ वटा घरघटहरा खाली गराइएको बताउनुभयो । वनको जमिनमा घरटहरा निर्माण गरेर निजी प्रयोगमा ल्याउने प्रयास गरिएकाले सो घरटहरा उखेर ठाउँ खाली गराइएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार कमला सब डिभिजन वन कार्यालयका अधिकृत भगलु मण्डल, जिल्ला वन सुरक्षा टोलीका कमाण्डर वैजनाथ सिंहको नेतृत्वको टोलीले जनपद प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा अतिक्रमित जमिन खाली गराएको हो ।
डिभिजनल प्रमुख सिंहले भन्नुभयो, “अनधिकृत रूपमा घरटहरा निर्माण गरेर वन क्षेत्रको जमिनमा कब्जा गर्ने प्रयास भएपछि टोली परिचालन गरी ती घरटहरा उखेलेर हटाएका छौं ।” आगामी दिनमा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायको सहयोग अन्य ठाउँका अतिक्रमित वन क्षेत्रको जमिन चरणबद्ध रुपमा खाली गराउने उहाँले बताउनुभयो ।

