छिरेश्वरनाथमा नेतृत्व युद्ध ः राजनीति चलेको छ, विकास ठप्प्

|

विजयकुमार साह
महेन्द्रनगर, धनुषा । चालू आर्थिक वर्ष समाप्त हुन दुई महिनाभन्दा पनि कम समय बाँकी छ । तर धनुषाको छिरेश्वरनाथ नगरपालिकामा विकास निर्माणको काम ठप्पजस्तै छ । नगरप्रमुख सुखदेव यादव र उपप्रमुख रचना माथेमाबीचको विवादले विकास निर्माणका कार्यहरू प्रभावित भएका छन् ।

नगरप्रमुख उपप्रमुख विवादका कारण नगरपालिकाको दैनिक प्रशासनिक काम र नीतिगत निर्णयहरू समयमै हुन नसक्दा विकास कार्यक्रमहरूमा अवरोध उत्पन्न भएको हो । दुई जना जनप्रतिनिधिले एक अर्कामाथि विकासको काममा अवरोध खडा गरेको आरोप प्रत्यारोप लगाउँदै आएका छन् । नगरप्रमुख एमालेबाट निर्वाचित हुन भने उपप्रमुख कांग्रेसबाट निर्वाचित हुन् । कार्यपालिकामा कांग्रेसको स्पष्ट बहुमत छ ।

उप्रमुख माथेमाले नगरप्रमुख यादवको मनोमानी र असंवैधानिक कार्यशैलीका कारण विकास निर्माणका कामले गति लिन नसकेको आरोप लगाउनुभयो । नगरप्रमुखले एकलौटी ढङ्गले र पार्टीगत आधारमा नगरपालिका चलाउने खोजेको सुनाउनुभयो । आफूलाई केवल कागजी भूमिकामा सीमित राखेको बताउँदै उपप्रमुख माथेमाले कुनै पनि काममा समावेश नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफू न्यायिक समितिको संयोजक भए पनि न्यायिक समितिमा कर्मचारी व्यवस्थापन नगरिदिँदा न्याय सम्पादन समेत प्रभावित भएको छ । पटकपटक कर्मचारी व्यवस्थापन गरिदिन भन्दा पनि सुनेको छैन । जसले गर्दा समितिको काम ठप्प छ ।” यहाँ विधिको शासन तोडिएको उपप्रमुख माथेमाको आरोप छ । नगरपालिकाका योजनासम्बन्धी विवरण समेटिएको रेडबुक समेत वडाध्यक्ष, सचिव र आफूलाई नदिइएको उहाँले बताउनुभयो ।

छिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगदिस यादवले पनि नगरप्रमुखको कामशैलीप्रति गम्भीर असन्तुष्टि जनाउनुभयो । उहाँले स्थानीय तह सञ्चालन ऐन २०७४ विपरित नगरप्रमुखले कार्यशैली अख्तियार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तीन वर्षको कार्यकाल बित्न लाग्दा पनि जनताको अपेक्षाअनुसार काम गर्न सकिएको छैन । नगर सभाबाट पारित योजनाहरु सञ्चालनमा आएका छैनन् ।”
उहाँका अनुसार वडाका जनप्रतिनिधिसँग समन्वय नगरी योजना बनाउने गरेका छन् । विवरण समेत सचिवहरुलाई नदिएर गोप्य राखेका छन् । स्थानीय तहमा विधिको शासन, पारदर्शिता र समन्वय हुनुपर्नेमा यहाँ सर्वसत्तावाद हावी भएको वडाध्यक्ष यादवको भनाइ छ । उहाँले अब यहाँका नागरिक जागरुक भएर निगरानी गर्नुपर्ने बताउनुभयो ।

नगरप्रमुख सुखदेव यादवले उपप्रमुख र केही वडाध्यक्षले योजनाबद्ध रूपमा नगरपालिका सञ्चालनमा अवरोध गरिरहेको आरोप लगाउनुभयो । उहाँहरुले नै विकास कार्यमा बाधा पु¥याएको दाबी गर्दै उहाँले बहुमतको दम्भमा विकासको काम रोकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिकामा राम्रो विकास गर्ने सोच र योजना छ । तर, मसँग बहुमत छैन । उपप्रमुखसहित केही वडाध्यक्षले कुनै काम हुन दिइरहेका छैनन् । उपप्रमुख आफै तीन महिनामा एक पटक कार्यालयमा आउनुहुन्छ ।” उहाँको यस्तो उपस्थितिले नियमति बैठक, न्याय सम्पादन, राजस्व सङ्कलनजस्ता महत्वपूर्ण काम अघि बढ्न नसकेको नगरप्रमुख यादवले बताउनुभयो ।

न्यायिक समितिमा कर्मचारी पूर्ति रहेको बताउँदै उहाँले न्यायिक समितिका अध्यक्ष उपप्रमुखले तीन वर्षको अवधिमा एउटा पनि मुद्दाको किनार लगाउन नसकेको जानकारी गराउनुभयो । नदीनाला ठेक्का लगाउन होस् वा बजेट कार्यान्वयन सबैमा असहयोग भइरहेको गुनासो गर्नुभयो । उपप्रमुख माथेमाले नगरपालिकाको कार्यालय सहयोगीलाई घरको सरसफाइ, खाना पकाउनेजस्ता निजी काममा प्रयोग गरेको र आफूले त्यो बन्द गराएपछि असन्तुष्ट बनेको नगरप्रमुख यादवको भनाइ छ ।

उहाँले चालू आर्थिक वर्षमा प्रत्येक वडाका लागि एक करोड २५ लाख, कार्यपालिका सदस्यलाई २० लाख, उपप्रमुखलाई दुई करोड र आफूले दुई करोड २० लाख रुपियाँको बजेट सञ्चालन गर्ने गरि विनियोज गरिएको बताउनुभयो ।
नगरप्रमुख यादवले चालू आर्थिक वर्षको बजेटबाट पालिकाको १० वटा वडामध्ये दुई वटामा मात्रै भौतिक पूर्वाधार निर्माणका काम भइरहेको उल्लेख गर्दै अन्य वडाबाट सम्झौता गर्न नआएको जानकारी दिनुभयो । पार्टीगत पूर्वाग्रहका कारण आफूले चाहेजस्तो काम गर्न नपाएको उहाँले गुनासो गर्नुभयो ।

उहाँले पार्टीगत राजनीतिक ध्रुवीकरणका कारण विभिन्न बाधा अवरोध भइरहेको उल्लेख गर्दै अवरोधका बाबजुद पनि थुप्रै विकास निर्माणका काम भइरहेको बताउनुभयो । उहाँहरुको अवरोधबीच पनि प्रदेश र सङ्घीय सरकार सहयोग करिब ८५ करोड रुपियाँका योजना कार्यान्वयनमा रहेको उहाँले दाबी गनुृभयो ।

उहाँका अनुसार तीन करोड रुपियाँका लागतमा पालिकाको विभिन्न स्थानमा कालोपत्रे सडक निर्माण भएको छ । एक करोड ५० लाख रुपियाँको लागतमा ब्याडमिन्टन कर्भडहल निर्माण गरिएको छ भने सात करोड रुपियाँको लगानीमा दुर्गा आधारभूत विद्यालय परिसरमा चारतले भवन निर्माणधीन अवस्थामा छ । त्यस्तै, १० करोड रुपियाँको लगानीमा शीतभण्डार र ४४ करोड रुपियाँको लगानीमा रिङ्रोडको योजना अघि बढाइएको छ । गोरखापत्रबाट