धनुषाको मिथिला नगरपालिकामा विगत नौ दिनदेखि जारी तालाबन्दीका कारण नगरपालिकाको दैनिक प्रशासनिक कामकाज ठप्प भएको छ । विकास निर्माण योजनामा भेदभाव गरिएको आरोप लगाउँदै उपप्रमुख सुनिता सिंह बुढाथोकीसहित केही वडाध्यक्षहरूले गत बुधबारदेखि तालाबन्दी गरेका हुन् ।
उपप्रमुख बुढाथोकी र असन्तुष्ट वडाध्यक्षहरूले नगरपालिकाले विकास योजनाको बाँडफाँडमा पारदर्शिता नअपनाएको र केही वडालाई प्राथमिकतामा राखेर योजना वितरण गरिएको भन्दै आक्रोश प्रकट गरेका छन् ।
यता तालाबन्दीबाट आजित भएका सचेत नागरिक तथा विकास निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुले बिहीबार कार्यालयमा पुगेर ताला खोल्ने प्रयास गरेका थिए । विकास निर्माणका काम रोकिएपछि समयमै योजना सम्पन्न गर्न अवरोध पुगेको भन्दै उनीहरू ताला खोल्न पुगेको बताइएको छ ।
ढल्केबरस्थित नगर कार्यालय पुगेका उपभोक्ता समितिका प्रतिनिधि तथा सचेत नागरिकहरूलाई उपप्रमुख बुढाथोकीले “वार्ताको प्रयास जारी छ, शुक्रबारसम्म पर्खनुस” भनेपछि उनीहरू फर्किएका थिए। तर वार्ता कहिले र कसरी हुने भन्ने विषयमा अझै स्पष्टता छैन ।
स्थानीय मनोज महतोले हामी नागरिकले सेवा लिन कार्यालय जाँदा ढोका बन्द देख्नुपरेकाले विवाद समाधान गरेर काम सुचारु गर्न सबै सरोकारवाला लाग्नुपर्ने बताए ।
“अहिलेको समय स्थानीय तहमा विकास निर्माणको योजना कार्यान्वयनमा केन्द्रित हुने मुख्य समय हो । निर्माण सामग्री, श्रमिकको उपलब्धता, मौसमीय अनुकूलताजस्ता पक्षका कारण आर्थिक वर्षको अन्तिम त्रैमासलाई अत्यन्त संवेदनशील मानिन्छ । यस्तो अवस्थामा तालाबन्दी हुनु नगरको आर्थिक तथा भौतिक प्रगतिमा प्रत्यक्ष असर र्पुयाउने देखिएको छ”, उनले भने ।
नगरप्रमुख महेन्द्र महतोको भनाइः
ूनगरपालिकामा एक्कासि तालाबन्दी गरिएको छ, जुन अस्वाभाविक र दुःखद कुरा हो । तालाबन्दी गर्नु अघि न त ज्ञापनपत्र आएको छ, न त ध्यानाकर्षण पत्र नै । कुनै औपचारिक जानकारी नदिई कार्यालय बन्द गरिनु जनप्रतिनिधिको हैसियतमा शोभनीय कार्य होइन । यसले नगरवासीलाई अनावश्यक रूपमा समस्यामा पारिरहेको छ ।
यदि योजना वितरणमा असन्तुष्टि वा अन्य विषयमा गुनासो छ भने त्यसबारे छलफल गर्न म तयार छु । सबै पक्षलाई संयमता अपनाउन र छलफलमार्फत समाधान खोज्न म आह्वान गर्दछु । हामीले जनताका लागि काम गर्ने हो, जनताकै सेवा रोक्ने गरी काम नगरौं । वार्ता र संवादमार्फत समस्याको समाधान सम्भव छ, नगरप्रमुख महतोले भने ।

