ढल्केबर, धनुषा ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित बाख्राबजार नजिक साइनबोर्डविहीन अवस्थामा संचालनमा रहेको मनोहर साहको फर्निचर उद्योगमा छापा मारिएको छ । डिभिजन वन कार्यालय धनुषाका कर्मचारीले छापा मारेको हो । छापामारीका क्रममा सो उद्योगबाट ठूलो परिमाणमा करिब ४ क्यूफिट साल जातको काठ बरामद गरिएको जनाइएको छ ।
यसैगरी, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–६ स्थित पर्वता–सखुवामहेन्द्रनगर सडकखण्डमा काठ तस्करी गर्दै गरेको अवस्थामा आइतबार बिहान एक जना पक्राउ परेका छन् ।
विहान करिब ५ बजे साइकलमा साल जातको गोलिया काठ लोड गरी जलाइध खोलाबाट सखुवातर्फ लैजाँदै गरेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका–८ इच्छापुर निवासी नरेश मण्डललाई नियन्त्रणमा लिइएको हो । मण्डललाई जनकपुरधाम डिभिजन वन कार्यालयकाका मनिष लामिछाने र कमाण्डर वैजनाथ सिंह नेतृत्वको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।

